आज:  | Tue, 21, Apr, 2026

१८ कराेड लागतमा मानव सेवा आश्रम वीरगञ्ज शाखा भवनको शिलान्यास

Avatar photo दिशा निर्देश ११ चैत्र २०७८, शुक्रबार ११:२६ मा प्रकाशित (४ साल अघि)

११ चैत, वीरगञ्ज । मुख्यमन्त्री लालबाबु राउत गद्दी, सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले संयुक्त रुपमा शुक्रबार शिलान्यास गरेका हुन् ।
१८ करोडको लागतमा बन्ने मानव सेवा आश्रम वीरगञ्ज शाखाको भवनको शिलान्यास गरिएको हाे ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद यादवले आगामी बजेटबाट मानव सेवा आश्रम भवनका लागि बजेट छुट्याउने बताए । मुख्यमन्त्री गद्दीले जग्गा नहुँदा भवनका लागि रकम छुट्याए पनि खर्च गर्न नपाएको बताए ।

‘आश्रमका लागि ३० लाख रुपैयाँ छुट्याएका थियौं, जमिन नभएकाले दिन सकेनौं,’ उनले भने, ‘भवन निर्माण गर्न, सञ्चालन गर्न कति खर्च लाग्छ, प्रदेश सरकारले के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि तयार छौं ।’

वीरगञ्जको नारायणी रंगशाला , नारायणी अस्पताल जस्ता संरचना सामुदायिक सहयोगले बनेको बताउँदै उनले मानव सेवा आश्रमको भवन बनाउन रकमको अभाव नहुने बताए ।
महानगर प्रमुख सरावगीले सडकमा अलपत्र बेसहारा मानवहरुको व्यवस्थापन तीनै तहको दायित्व भएको बताए ।

उनले प्रदेश सरकारले महानगरलाई दिने १० करोड आश्रमका लागि नै दिन मुख्यमन्त्री राउत सँग आग्रह गरे ।
तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी भवन बनाउन लागिएको मानव सेवा आश्रमले जनाएको छ ।

रेम्ड अर्थ प्रविधिबाट भवन बनाउने तयारी गरिएको छ । गर्मी चिसो र जाडोमा न्यानो हुने भएकाले रेम्ड अर्थ प्रविधिबाट भवन बनाउन लागिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

श्रृंखला खतिवडाले सञ्चालन गरेको गाथाले भवनको डिजाइन गरेको थियो । मानव सेवा आश्रम शाखाका लागि १८ कठ्ठा जमिन र २५ लाख रुपैयाँ पनि दिइएको थियो ।
भोजपुरी कला सँस्कृति झल्कने, वातावरण सुहाउँदो, भूकम्प प्रतिरोधी र वास्तु शास्त्र मिलाएर भवन बनाउने इन्जिनियरहरुले बताएका छन् ।

१४ कठ्ठा जमिनमा भान्छा घर, तालिम हल, सहयोगापेक्षीलाई राख्ने कोठाहरु, हेरचाहमा खट्नेहरुका लागि आवास र आश्रममा आउने पाहुनाका लागि अतिथि गृह समेत बनाउने उनीहरुले बताएका छन् ।

मानव सेवा आश्रमको १३ जिल्लामा आफ्नै भवन बनिसकेको छ । मानव सेवा आश्रमले वि.सं. २०८० भित्रमा आश्रम शाखाहरुको भवन बनाइसक्ने, वि.सं.२०८१ सम्म जनचेतना फैलाउने र वि.सं. २०८२ बैशाख १ गते औपचारिक रुपमा सडक मानवमुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ ।

मानव सेवा आश्रम ०७४ जेठ १५ गते स्थापना भएको वीरगञ्ज शाखामा ६ जना बालबालिका सहित ६२ जना आश्रित छन् ।


सम्बन्धित खबरहरु