आज:  | Tue, 21, Apr, 2026

प्रधानमन्त्री शेर बहादुर देउवा बिहिवार वीरगञ्ज आउँदै

Avatar photo दिशा निर्देश २५ फाल्गुन २०७८, बुधबार १९:३५ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज, २५ फागुन । प्रधानमन्त्री शेर बहादुर देउवा भोली (बिहिवार) वीरगञ्ज आउँदैछन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रि महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्न देउवा वीरगञ्ज आउन लागेका हुन् ।

भोली र पर्सी वीरगञ्जको नगर सभा गृहमा हुने महाधिवेशन तथा सम्मेलनमा प्रमुख अतिथीको रुपमा नेपाली काङ्ग्रेसका सभापतिसमेत रहेका देउवा आउने कार्यक्रम रहेको महासंघका केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीले जानकारी दिए ।

भोली दिउँसो १ बजे नगर सभा गृहमा महाधिवेशन तथा सम्मेलनको देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । इतिहासमै पहिलो पटक महासंघको महाधिवेशन मोफसलमा हुन लागेको नेपाल घरेलु तथा साना उद्योग महासंघ पर्साका अध्यक्ष हिरा कानुले बताए ।

देशकै आर्थिक एवम् औद्योगिक नगरी वीरगञ्जमा हुने महाधिवेशनले लघु, घरेलु तथा साना उद्योग र महिला उद्यमशीलताको क्षेत्रमा सुधार गर्नुपर्ने नीति, नियम र कानुनको बारेमा छलफल गरी ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।

नगर सभा गृहमा हुने महाधिवेशनअघि वीरगञ्जस्थित लर्डस् दियालोमा कार्यकता भेटघाट तथा प्रमाण पत्र वितरण कार्यक्रम पनि रहेको छ । हेलिकप्टरमार्फत आएर वीरगञ्जको आदर्शनगरस्थित लर्डस् दियालोमा खाना खाएर बिहान ११ बजेदेखि १ बजेसम्म कार्यकर्ता भेटघाट तथा पार्टीका जिल्ला अधिवेशनबाट निर्वाचित भएका नया कार्य समितिलाई प्रमाण पत्र वितरण गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रिय सदस्य रमेश रिजालले जानकारी दिए ।

कार्यकर्ता भेटघाट कार्यक्रम सकिएपछि २ बजे नगर सभा गृहमा महाधिवेशन उद्घाटन गरेर ३ बजे हेलिकप्टरमार्फत फर्किने कार्यक्रम रहेको केन्द्रिय सदस्य रिजालले बताए ।


सम्बन्धित खबरहरु