वीरगञ्ज, २४ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वीरगञ्ज कारागारमा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वीरगञ्ज युवा समाजले कारागारमा रहेका महिला बन्दीहरुलाई मध्यनजर गर्दै निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
समाजका अध्यक्ष कमल चौगाईको सभापतित्वमा सम्पन्न शिविरमा कारागारमा रहेको ६४ जना महिलाहरुले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए । स्त्री तथा प्रसुती रोग विशेषज्ञद्वय डा. दिप्ती यादव र डा. प्रिती यादवसँगै स्टाफ नर्स सृष्टि बिष्ट, अस्मिता गौतम, स्मृति क्षेत्रीले स्वास्थ्य परीक्षण गरेका थिए ।
कारागारभित्र रहेका महिलाहरु स्वास्थ्य अवस्था सम्बन्धमा कसैको ध्यान पुग्न नसकेको भन्दै नारी दिवसकै अवसर पारेर महिला सम्बन्धी रोगहरुको परीक्षण गर्न शिविरको आयोजना गरिएको समाजका अध्यक्ष चौगाईले बताए । सो अवसरमा सेनेटरी प्याडसमेत वितरण गरिएको अध्यक्ष चौगाईले जानकारी दिए ।
शिविरमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रकाश पोखरेल, वीरगञ्ज नर्सिंग क्याम्पसकी प्रमुख सूर्या कोइराला, समाजसेवी एवम् पुर्न जन्म नेपालका प्रमुख कार्यकारी अधिकृत अजितम पाण्डे लगायतको उपस्थिती रहेको थियो ।
