वीरगञ्ज – वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात बढेको छ। देशको प्रमुख आर्थिक नाका वीरगञ्ज नाका भएर चालु आर्थिक वर्षको पहिलो सात महिनामा ७१ अर्बभन्दा बढीको डिजेल र पेट्रोल आयात भएको हो।
चालु आर्थिक वर्षको साउनदेखि माघसम्म यो नाका भएर रु ७१ अर्ब ३३ करोड ५२ लाख ७७ हजार बराबरको डिजेल र पेट्रोल आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। यस अवधिमा ७ लाख १८ हजार ७६९ किलोलिटर डिजेल र २ लाख ३१ हजार १३२ किलोलिटर पेट्रोल आयात भएको हो।
गत वर्षको यसै अवधिमा ३६ अर्ब ३७ करोड १४ लाख २४ हजार बराबरको डिजेल र पेट्रोल आयात भएको थियो। जसमध्ये २७ अर्ब १८ करोड ६१ लख २७ हजार बराबरको ५ लाख ८१ हजार १३३ किलोलिटर डिजेल र रु ९ अर्ब १८ करोड ५२ लाख ९७ हजार बराबरको १ लाख ९५ हजार ६७२ किलोलिटर पेट्रोल आयात भएको थियो।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा रु ३४ अर्ब ९६ करोड ३८ लाख ५३ हजार मूल्य बराबरको बढी डिजेल र पेट्रोल आयात भएको छ। चालु आर्थिक वर्षको माघमा मात्रै रु ८ अर्ब ५४ करोड ९४ लाख २ हजार मूल्य बराबरको एक लाख ४ हजार ४२० किलोलिटर डिजेल र रु २ अर्ब २४ करोड ६८ लाख २५ हजार बराबरको २५ हजार ८८० किलोलिटर पेट्रोल आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
गत वर्षको माघमा रु ४ अर्ब ८ करोड २६ लाख ३० हजार बराबरको ७६ हजार ७१६ किलोलिटर डिजेल र एक अर्ब ७० करोड ३१ लख ९२ हजार मूल्य बराबरको ३१ हजार ५३७ किलोलिटर पेट्रोल आयात भएको थियो। जसअनुसार माघमा मात्रै वीरगञ्ज नाका भएर गत वर्षको तुलनामा यस वर्ष दोबर डिजेल र पेट्रोल आयात भएको छ।
