नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार केहीबेरअघि बैठक सुरू भएको कार्यालय सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।
गत बिहीबार सुरु भएको बैठकमा अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन गर्ने, म्याद समाप्त भएका भ्रातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन गराउने विषयमा छलफल भइरहेको छ । छलफल सकिए बैठकका निर्णय आजै सुनाउने रिजालले बताए ।
बैठकको एजेन्डामा नभए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाभियोगबारे पनि छलफल हुँदैछ । महाभियोग दर्ता भइसकेपछि पार्टीको अबको राणनीतिबारे बैठकमा छलफल गर्ने काँग्रेसले जनाएको छ ।
काँग्रेसले यसअघि आजै बिहान बसेको संसदीय दलको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पेश गराउने निर्णय गरेको थियो । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी प्रस्ताव सदनमा अघि बढाउन सभामुखलाई आग्रह गरेका छन् ।
