बीरगन्जबाट लागु औषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार जिल्ला मोतिहारी थाना रामगढवा-१४ बस्ने २२ वर्षीय जगतकुमार कुशवाहा पक्राउ परेका हुन् ।
सोमबार बिहान साढे ९ बजे बीरगन्ज महानगरपालिका वडा नं.१४ गण्डकचोकस्थित सडक खण्डमा प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ्ग टोलीले उनलाई पक्राउ गरेको थियो ।
शंकास्पदरूपमा पैदल हिंडिरहेका कुशवाहाले बोकेको ब्यागभित्र कालो प्लाष्टिकको झोलामा लुकाइछिपाइ ल्याएको प्रतिबन्धित लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।
उनको साथबाट एनुर्फिन, डाइजीपाम र फेनारगन एक/एक सय एम्पुल गरी जम्मा तीन सय एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
