वीरगञ्ज- १४ बर्षीय एक बालिकालाई बिबाह गर्छु भनी भारतमा बेचबिखन गर्न खोज्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बालिकालाई बिहे गर्ने प्रलोभन देखाई वीरगञ्जको इनर्वा नाका हुदै भारतमा बेचबिखन गर्न खोज्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका–७ घर भई चितवनको भरतपुर उपमहानगरपालिका–१ पोखरा बसपार्क बस्दै आएका २८ बर्षीय राजु अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका अधिकारीले गत माघ ७ गतेदेखि सम्पर्कबिहीन भएकी बैतडी जिल्लाकी १४ बर्षकी बालिकासँग एक महिना अघिदेखि फोनमार्फत चिनजान गरेका थिए ।
चिनजान पछि बालिकालाई अर्घाखाँची भेटन बोलाएर बिहेको प्रलोभन देखाई उनले वीरगञ्ज बसपार्कसम्म ल्याएका थिए ।
बसपार्कमा बोलाएर अब पाँच मिनेटमै घर पुगिन्छ भनी झुक्याएर अधिकारीले बालिकालाई भारतमा बेचबिखन गर्ने उदेशयले वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वा नाकासम्म लगेका थिए।
नाकामा रहेको शंकराचार्य गेटमा खटिएको प्रहरी टोलीले माइती नेपाल संस्थाको समन्वयमा बालिकालाई उद्धार गर्नुका साथै अधिकारीलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
