आज:  | Tue, 21, Apr, 2026

बालकको हत्या आरोपमा एकै परिवारका ५ जना पक्राउ

Avatar photo दिशा निर्देश १० माघ २०७८, सोमबार २१:२४ मा प्रकाशित (४ साल अघि)

वीरगन्ज — पर्साको जगरनाथपुर गाउँपालिका– ६ निवासी एक १२ वर्षीय बालकको हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका ५ जना एकै परिवारका सदस्य भएको प्रहरीले जनाएको छ।
गत पुस २३ मा दिउँसो करिब ४ बजे उखु खेतमा १२ वर्षीय मन्टु प्रसाद कुर्मीको शव फेला परेको थियो ।

घाँटी थिचेर हत्या गरी फालेको अवस्थामा मन्टुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पुरानो मुद्दाको रिसइबीका कारण मन्टुको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

मृतक मन्टुका बुबा नागेश्वर प्रसाद कुर्मीले दिएको किटानी जाहेरी तथा अनुसन्धानबाट हालसम्म खुल्न आएका तथ्यहरूको आधारमा पाँच जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिएको प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जनाए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका– ६ निवासी ६४ वर्षीय गोबारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधन यादव, ३० वर्षीय मनमोहन यादव र २५ वर्षीय रोहन यादव रहेका छन् ।

‘मन्टुको हत्यमा संलग्न रहेका ५ जना पक्राउ परेका छन्,’ डिएसपी खनालले भने, ‘अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान थालिएको छ । मुद्दा मामिलाको रिसइबीका कारण हत्या गरेको देखिन्छ ।’


सम्बन्धित खबरहरु