आज:  | Tue, 21, Apr, 2026

वीरगञ्ज राजधानी नबनाए ज्यानको आहुति दिन तयार छौँ : नेता सिंह

Avatar photo दिशा निर्देश २४ पुष २०७८, शनिबार १४:५८ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज
वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै दबाबमुलक जुलुस प्रदर्शन गरिएको छ ।

‘मुख्यमन्त्री चाहिदैन, वीरगञ्ज बेच्न पाइँदैन’,भन्दै वीरगंजमा शनिबार बृहत जुलुस प्रदर्शन भएको हो ।

स्विमिङमुलबाट निस्किएको बृहत् र्याली वीरगञ्जको आदर्शनगर, अलखियामठ, गीता मन्दिर, माइस्थान हुँदै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै प्रदेश सांसद प्रह्लाद गिरीले मधेश आन्दोलनको केन्द्र वीरगञ्जलाई नै प्रदेशको राजधानी बनाउनु पर्नेमा जोड दिए ।

बारा, रौतहट, सर्लाहीसम्मका प्रतिनिधिको आवाज पनि वीरगञ्ज नै राजधानी हुनु पर्छ भन्नेमा रहेको भन्दै उनले वीरगञ्जलाई राजधानी नबनाइए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

वीरगञ्जलाई राजधानी बनाउन पर्छ भनेर आफूले हाउसमा जाेडदार कुरा उठाएकाे भन्दैउनले केही फटाहा प्रवृतिका ब्यक्तिहरूले आफ्नो बदनाम हुने गरि भ्रामक प्रचार गरेको भन्दै आक्रोष ब्यक्त गरे ।

कोण सभालाई सम्बोधन गर्दै युवा नेता राजेशमान सिंहले आन्दोलनका बेला नेताहरुले गरेको बाचा भुलेकाले त्यसलाई फेरि झकझकाउन आफूहरु सडकमा आउनु परेको बताए ।

राजधानी वीरगञ्ज बनाउनकाे लागि आफ्नाे ज्यानकाे आहुति दिन पनि तयार रहेकाे भन्दै नेता सिंहले वीरगञ्जलाई राजधानी नबनाइए आन्दोलनका बेला ठूला भाषण छाट्ने कथित नेताहरूलाई वीरगञ्ज प्रवेशमा रोक लगाउन युवाहरुलाई आह्वान गर्नु भयो ।

वीरगञ्जले प्रदेशको मुख्यमन्त्री पाएको भए पनि उनले अहिले वीरगञ्जलाई भुलेर जनकपुरलाई प्रदेश राजधानी बनाउन लागि परेको भन्दै समयमै मान्छे चिन्न सबैलाई आग्रह गरे ।

प्रदेश सभाको समयावधी सकिनै लाग्दा बल्ल प्रदेश सभाले नाम र राजधानी टुंगो लगाउन थालेको हो ।

२०७२ को ६ महिनासम्म चलेको मधेश आन्दोलनका बेला नेताहरुले वीरगञ्जलाई प्रदेश राजधानी बनाउने प्रतिबद्धता जनाएका थिए ।

तर अहिले वीरगञ्जलाई उपेक्षा गर्दै प्रदेश राजधानी नबनाउने षड्यन्त्र गरेपछि यश क्षेत्रका नागरिक असन्तुष्ट बनेका छन् ।


सम्बन्धित खबरहरु