वीरगञ्ज – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उद्योग व्यवसायको क्षेत्रमा परिचित रहेको वीरगञ्जलाई अब शिक्षा क्षेत्रमा पनि परिचित बनाउने गरी काम गर्न सबैलाई आग्रह गरेका छन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल पर्साको नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस क्षेत्रको शैक्षिक स्तर बृद्धिका लागि शिक्षा मन्त्रालय मिलेर काम गर्न तत्पर रहेको पनि बताए ।
अहिलेको शिक्षा प्रणालीमा व्यापक सुधारको खाँचो रहेको औँल्याउँदै मन्त्री पौडेलले त्यसका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए ।
कोभिडको समयमा पनि निजी क्षेत्रका विद्यालयले उल्लेख्य काम गरेको भन्दै उनले आउँदा दिनमा पनि राज्यलाई आवश्यक पर्दा निजी क्षेत्रले यसै गरी साथ दिन आग्रह गरे ।
राज्यले लगानी गर्नु पर्नेमा निजी क्षेत्रले आफैँ लगानी गरेर नेपालको शिक्षा क्षेत्रमा ठूलो योगदान दिएको भन्दै निजी क्षेत्रको हितमा राज्य सँधै रहने पनि उनले विश्वस्त तुल्याए ।
![]()
सार्वजनिक र निजी दुबै क्षेत्रलाई सँगसँगै लैजान सरकार तयार रहेको भन्दै उनले त्यसका लागि शिक्षा ऐन सुधारको काम भइरहेको पनि जानकारी दिए ।
कार्यक्रमकाबीच राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल पर्साको नयाँ कार्यसमितिको पदस्थानसमेत गरिएको छ ।
नयनिर्वाचित समितिका अध्यक्ष रामराज श्रेष्ठसहितको कार्यसमितिलाई शिक्षामन्त्री पौडेलले माला र प्रमाणपत्र प्रदान गरेर पदस्थापन गराउनु भयो ।
कार्यक्रमकैबीच निवर्तमान समितिका अध्यक्ष र सचिवले संस्थाको महत्वपूर्ण कागजातहरु बरबुझारथसमेत गरेका थिए ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चाैगाईँ लगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
