आज:  | Wed, 18, May, 2022

‘तपाईँले राख्ने याैन सम्बन्धले पनि जलवायु परिवर्तनमा प्रभाव पार्छ’

दिशा निर्देश ११ कार्तिक २०७८, बिहीबार ०८:२६ मा प्रकाशित (६ महिना अघि)

एजेन्सी – हामीले गर्ने कार्बन उत्सर्जन घटाउन विभिन्न उपायबारे सोच्दा हाम्रो यौन जीवन प्रायः प्राथमिकताको सूचीमा पर्दैन।

यद्यपि वनस्पतिबाट बनेको कन्डम र खेर नजाने गर्भनिरोधक जस्ता दीर्घ उपयोगी उत्पादनबारे वेबसाइटमा गरिने खोजी केही वर्षयता निरन्तर वृद्धि भइरहेको छ।

पर्यावरणमैत्री यौन सम्बन्ध के हो ?
“कसैकसैका लागि यौनिक रूपमा पर्यावरणमैत्री हुनु भनेको घरमा कम प्रभाव पार्ने यौनिक क्रियाकलापमा प्रयोग हुने एक प्रकारको तेल, खेलौना, तन्ना र कन्डमजस्ता सामग्री रोज्नु हो,” पर्यावरणीय दिगोपनासम्बन्धी काम गर्ने नाइजिरियाकी वैज्ञानिक एडनिके आकिन्सेमोलोले भनिन्।

“अरूका लागि अश्लील चलचित्र बनाउँदा कामदारहरू र वातावरणमा हुनसक्ने क्षति कम गर्नु हो। दुवै उदाहरणहरू महत्त्वपूर्ण र मान्य छन्।”

संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्यासम्बन्धी कोषका अनुसार हरेक वर्ष १० अर्ब पुरुषले प्रयोग गर्ने लेटेक्स कन्डमहरू बन्छन्। तीमध्ये अधिकांश फोहोर फालिने ठाउँमा मिल्काइन्छन्।

अतिरिक्त रसायन पनि प्रयोग हुने भएका कारण त्यस्ता कन्डमहरू पुनः प्रयोग गर्न नमिल्ने किसिमका हुन्छन्।

रोमन सभ्यतादेखि नै प्रयोग हुँदै आएका भेडाको आन्द्राबाट बन्ने कन्डमहरू मात्रै पूर्ण रूपमा सडेर माटोमा मिल्थे। तर त्यस्ता कन्डमले यौनरोगबाट जोगाउँदैनन्।

कन्डममा प्रयोग हुने तेल पेट्रोलियम पदार्थमा आधारित र जीवाश्म इन्धनयुक्त हुन्छन्। त्यसैले पनि पानीमा आधारित अर्ग्यानिक उत्पादनमा वृद्धि भएको छ र घरेलु उत्पादनका विकल्पहरू अझ लोकप्रिय भइरहेका छन्।

डा. टेसा कमर्सको टिकटकमा यौन स्वास्थ्यबारे भिडिओ हेर्ने १० लाख जनाभन्दा बढी फलोअर छन्। एक प्रकारको पीठो र पानीबाट घरमै तेल बनाउने तरिकाबारे उनले बनाएको भिडिओ सबैभन्दा धेरै ८० लाख पटक हेरिएको छ।

“पानीमा आधारित तेलहरू, अर्ग्यानिक र वानस्पतिक कन्डमहरू रमाइलो गर्न र दिगो यौन जीवन अँगाल्नका लागि राम्रो रोजाइ भएका छन्,” आकिन्सेमोलो भन्छिन्।

“तिनले वातावरणमा सामान्य मात्रै हानि पुर्‍याउनुका साथै प्रयोगकर्ताहरूलाई आनन्द पनि प्रदान गर्छन्।”

तर यस्ता हरित उत्पादनहरूको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। फुट्ने जोखिम हुने भएका कारण अरू कन्डमहरू जसरी यसको प्रयोग गर्न सकिँदैन।

गर्भनिरोधकको रूपमा यसको प्रयोग गर्ने निर्णय लिनुअघि चिकित्सक वा परिवार नियोजनविज्ञसँग सल्लाह लिन सुझाव दिइएको छ।

वैज्ञानिक एडनिके आकिन्सेमोलो

प्लास्टिकको व्यापक प्रयोग हुने अर्को सामान “सेक्स टोय” अर्थात् यौनानन्द लिन प्रयोग गरिने खेलौनाहरू हुन्। तिनमा स्टील र सिसाबाट बनेका विकल्पहरू पनि हुन्छन्। रिचार्ज गरेर प्रयोग गर्न सकिने खेलौना किन्ने विकल्पले पनि फोहोर घटाउन सहयोग पुग्छ। अहिले त सौर्य ऊर्जाबाट चल्ने सेक्स टोयहरू पनि बजारमा पाइन्छन्।

“लभ हनी” जस्ता कतिपय कम्पनीले त साधारण रूपमा पुनः प्रयोग गर्न नसकिने सेक्स टोयको पुनर्प्रयोगका लागि पनि सहयोग गर्दै आएका छन्।

फोहोर घटाउन सकिने अरू क्षेत्र के छन्
त्यसबाहेक हाम्रो यौन जीवनमा अरू सरल पक्षहरू छन् जसमा परिवर्तन ल्याउँदा फोहोर कम गर्न सकिन्छ।

नीतिसङ्गत रूपमा निर्मित महिलाका भित्री वस्त्र र अन्य लुगाको खरिद, नुहाउँदै गरिने यौनक्रिया, तातोपानीको कम प्रयोग, बत्ती निभाएर छोड्ने र धोएर फेरि प्रयोग गर्ने लुगाहरूको छनोट पर्यावरणमा हाम्रो प्रभाव कम गर्ने उपायहरू हुन्।

हामीले किन्ने धेरै कुराहरू प्याकिङका लागि प्रयोग भएका सामग्री पनि फोहोरकै रूपमा खेर जान्छन्।

न्यूयोर्कस्थित जीरो वेस्ट इन्फ्लूएन्सर लरेन सिङ्गर सामानको फोहोर घटाउन धेरै कम्पनीहरूले काम गर्न सक्ने बताउँछिन्।

कन्डम, तेल र दैनिक प्रयोगमा आउने गर्भनिरोधक चक्की सबै प्याकिङ गरेर मात्रै बजार पठाइन्छ र प्याकिङका लागि प्रयोग भएका सामग्री फोहोर फाल्ने ठाउँमा मिल्काइन्छन्।

आईयूडी र इम्पान्टहरू लामो समयसम्म प्रयोग हुने गर्भनिरोधक साधन हुन्। तिनको फोहोर कम भए पनि आफ्नै जोखिम छन्।

लरेन करिबकरिब फोहोरमुक्त जीवन व्यतीत गरिरहेकी छन्। उनले सन् २०१२ यता पुनः प्रयोगमा ल्याउन नसकेका सामानहरू एउटा बाकसमा जम्मा गरेर राखेकी छन्।

LAUREN SINGER

लरेनको बाकसमा कन्डम भेटिँदैनन्। किनभने उनलाई थाहा छ कि कन्डम सङ्क्रमणबाट जोगिन मात्रै उपयोगी हुन्छ। त्यसैले उनी आफ्ना यौनसाथीलाई आफूसँग सम्बन्ध राख्न आउनुअघि परीक्षण गर्न अनुरोध गर्छिन्।

“मसँग अहिले एक जना मात्रै साथी छन्। तर तपाईँ आफ्नो यौनसाथीसँग सुत्न जानुअघि परीक्षण गरेर आउन भन्न सहज महसुस गर्नुहुन्न भने तपाईँ ती व्यक्तिसँग नसुत्नु नै उचित हुन्छ,” लरेन भन्छिन्।

तर अनिच्छित गर्भ र यौनरोगले पर्यावरणका लागि थप हानि पुर्‍याउन सक्ने कुरामा उनी सचेत छिन्।

“हामीले के फोहोर उत्पादन गर्ने र के नगर्ने भन्ने कुरामा हामीले सोचविचार गर्नुपर्छ,” उनी भन्छिन्।

“मानिसहरूले फोहोरको पक्षलाई मात्रै ध्यानमा राखेर कन्डम प्रयोग गर्ने वा प्रजनन नियन्त्रण नै नगर्ने गर्नु हुँदैन। तपाईँ र तपाईँको साथी सुरक्षित रहनु पनि महत्त्वपूर्ण हो।”

आकिन्सेमोलो यसमा सहमत छिन्। भन्छिन्, “पर्यावरणमैत्री उत्पादनहरू प्रयोग गरेर होस् वा नहोस् सुरक्षित यौन सम्बन्ध नै मानिस र यो ग्रहका लागि कालान्तरमा दिगो हुन्छन्।”

सन्तान उत्पादनको जलवायुमा प्रभाव
सन्तान उत्पादनमा यौन र पर्यावरणको सङ्घर्ष हुने कुराले हामीलाई अर्को बिन्दुमा पुर्‍याउँछ।

सन् २०१७ को एक अध्ययनका कार नचढी जीवन निर्वाह गर्ने हो भने वर्षमा २.३ टन कम कार्बन डाईअक्साइड कम उत्सर्जन हुन्छ। त्यसैगरी वनस्पतिबाट उत्पादन हुने खाद्यपदार्थ मात्र प्रयोग गर्ने हो भने थप ०.८ टन कार्बन जोगाउन सकिन्छ। तर यदि तपाईँ विकसित देशमा बस्नुहुन्छ र बच्चा जन्माउनुहुन्न भने वर्षमा ५८.६ टन कार्बन बचाउन सकिन्छ।

कम विकसित देशमा मानिसहरूले उत्सर्जन गर्ने कार्बन अझै कम हुन्छ। पूर्वी अफ्रिकाको मलावीमा एक बच्चा हुँदा पनि ०.१ टन मात्रै कार्बन उत्सर्जन हुन्छ।

केही प्रभावशाली व्यक्तिहरूले बच्चा जन्माउने विषयमा आफ्नो फरक मत राखेका छन्। सन् २०१९ मा राजकुमार ह्यारीले उनको दम्पतीले बढीमा दुई सन्तान जन्माउने सोचेको बताएका थिए। उनले यो निर्णयका पछाडि पर्यावरण प्रमुख कारण रहेको बताएका थिए।

अमेरिकी सांसद अलेक्जेन्ड्रिया ओकासियो कोर्टेजले सन् २०१९ मा एक जलवायुसम्बन्धी बैठकमा आफ्नो बच्चाको भविष्यबारे थाहा पाएपछि मातृत्वको सपना पनि तीतो लाग्न थालेको बताएकी थिइन्।

विश्वका धेरै देशमा जन्मदर निरन्तर घटिरहेको छ। तर दशक लामो यो प्रवृत्तिलाई जलवायु परिवर्तनसँग मात्रै जोडेर हेर्न भने सकिँदैन।

ब्रिटिश वैज्ञानिकहरूको विश्वव्यापी सर्वेक्षणमा सहभागी १० हजार युवामध्ये तीनचौथाइले भविष्य डरलाग्दो भएको बताएका थिए। करिब ४१ प्रतिशतले जलवायु परिवर्तनलाई कारण देखाउँदै बच्चा जन्माउन सङ्कोच व्यक्त गरेका थिए।

“म बच्चा जन्माउँदिनँ”

भारतको मुम्बईमा बस्ने तन्मय सिन्धेले पर्यावरणकै कारण बच्चाको योजना नबनाउने निर्णय गरेका छन्।

जलवायुसम्बन्धी एक संस्थाले बढ्दो समुद्री सतहका कारण सन् २०५० सम्ममा उनको गृहनगर पानीमा डुब्न सक्ने बताएको छ।

उनको यो निर्णय बुझ्न उनको परिवारलाई कठिन भएको छ। तर आफू पुरुष भएका कारण यस्ता निर्णयहरू लिन महिलालाई भन्दा बढी विशेषाधिकार आफूलाई भएको उनी ठान्छन्।

TANMAY SHINDE

“भारतमा परिवारहरू निकै परम्परावादी छन्। उनीहरूमा वर्षौँ पुराना चलन मान्ने संस्कृति छ। विवाहपछि बच्चा हुने कुरा पनि यसमा महत्त्वपूर्ण मानिन्छ र यो संस्कृतिको निरन्तरताका लागि धेरै सामाजिक दबावहरू पनि आउँछन्,” उनी भन्छन्।

उनले आफ्नो विचार परिवर्तन गर्लान् त?

उनी भन्छन् ,”कार्बन उत्सर्जन घटाउन र वैश्विक तापमानवृद्धि रोक्न कडा निर्णय र आमूल परिवर्तनहरू बच्चा जन्माउनका लागि सुरक्षित ग्रह र दिगो जीवनशैलीका लागि पूर्वसर्तहरू हुन्। मलाई लाग्छ म बच्चा जन्माउनेबारे योजना बनाउँदिनँ।”

स्वीडनको लुन्ड विश्वविद्यालयका प्राध्यापक बिम्बर्ली निकोलस संलग्न भएको एउटा अध्ययनले विकसित देशका बालबालिकामा कार्बन उत्सर्जनको ठूलो नकारात्मक प्रभाव रहेको देखायो।

यद्यपि उनी मानिसहरूले बच्चा पाउनै छोड्नुपर्छ भन्ने तर्कमा सहमत छैनन्।

“मानिसहरूको व्यक्तिगत इच्छा र मानव अधिकारबारे मलाई केही भन्नु छैन। मैले काम गरिरहेको चाहिँ अहिले बाँचिरहेका बालबालिकाका लागि कसरी सुरक्षित समाज बनाउने भन्ने हो,” उनी भन्छिन्।

उनी मानिसहरूले गर्भनिरोधक साधनको प्रयोगबाट हुने फोहोरभन्दा बढी यात्राका बेला फोहोर गर्ने व्यवहार परिवर्तन गर्नुपर्ने बताउँछिन्।

“हाम्रो प्रयास त्यो ठाउँमा हुनुपर्छ जहाँ हामी फरक पार्न सक्छौँ,” उनी भन्छिन्।

आफ्नो जीवनको एकतिहाइ समय पुनः प्रयोग नहुने फोहोर उत्पादन नगरी बिताएकी लरेन चाहिँ बच्चा पाउने विषयमा अझै अनिर्णीत छिन्।

“मैले धर्मसन्तान राख्दा ठिक होला किन भन्ने सोचेकी छु, तर आफैँले पाउनेबारे म अझै निश्चित छैन,” उनले भनिन्।

जीवनका अन्य निर्णयहरू जस्तै बच्चा जन्माउने निर्णय पनि पर्यावरणमैत्री हुनेमा उनी आफैँलाई प्रश्न गरिरहेकी छन्।

“यसले पृथ्वीलाई कुनै फाइदा हुन्छ? म यो बच्चालाई कुनै मूल्य दिन सक्छु वा सक्दिनँ र ऊ अझ राम्रो संसार बनाउन प्रयास जारी राख्दै मभन्दा धेरै बाँच्छ वा बाँच्दैन?”


सम्बन्धित खबरहरु