आज:  | Tue, 21, Apr, 2026

५० लाखको लागतमा पकाहामैनपुर गाउँपालिकाले आफ्नै भवन बनाउने

Avatar photo दिशा निर्देश ५ कार्तिक २०७८, शुक्रबार २१:३० मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – पर्साको पकाहामैनपुर गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गर्न लागेको छ । ५० लाख रुपैयाँको लागतमा यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ भवनको शुक्रबार एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष बिजय चौरसियाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जनता समाजवादी पार्टीका नेता हरिनारायण रौनियारले भवनको शिलान्यास गरेका हुन् ।

अहिले महिला सामुदायिक केन्द्रको भवनबाट गाउपालिकाको प्रशासनिक काम चलिरहेको छ । अब भने गाउँपालिकाको आफ्नै भवनबाट प्रशासनिक काम गर्ने गरी भवन निर्माणको काम शुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष चौरसियाले बताए ।

भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाको काममा अझै सहजता हुने उनले वताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता रौनियारले तीन तहको सरकार आए पछि देशमा धेरै विकास भएको दावी गरे । उनले पछिल्लो ४ वर्षको दौरानमा तीन तहको सरकारले आ आफ्नो क्षेत्राधिकार भित्र रहेर धेरै विकासे योजनाहरु सम्पन्न गरेको बताए ।

शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमा सरकारहरुले राम्रो काम गरेको तथा जनताको जनजीवनमा पहिले भन्दा अहिले निकै परिवर्तन आएको रौनियारले दावी गरे ।
नेता रौनियारले भवन निर्माण पश्चात पकहाँमैनपुर गाउँपालिकाका जनतालाई प्रशासनिक तथा विकास निर्माणका अन्य कामहरु गर्न सहज हुने विश्वास व्यक्त गरे ।

यस्तै प्रदेश सभा सदस्य मंजुर अंसारीले गाउँपालिकाको भवन तोकिएकै समयमा गुणस्तीय बन्ने बिश्वास व्यक्त गरे ।

उनले गाउँपालिकाले प्रदेश सरकार तथा जिल्ला समन्वय समिति लगायतमा पहल गरे बजेट थप हुन सक्ने पनि वताए ।

गाउँपालिकाको भवन अहिले संचालनमा रहेको कार्यालयको छेवैमा निर्माण हुन लागेको हो ।

शिलान्यास कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल मोदी, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवाल, नेता नागेन्द्र यादव, हरेन्द्र चौरसिया, रमेश साह, मदन कानु, देवकी महरा, मोटर राउत, बिन्दुभुषण साह लगायतका स्थानिय नेता तथा समाजिक अगुवाहरुको उपस्थिती रहेको थियो ।


सम्बन्धित खबरहरु