आज:  | Tue, 21, Apr, 2026

पकहामैनपुर गापा अध्यक्षमाथि दुर्व्यवहारकाे प्रयास

Avatar photo दिशा निर्देश २३ आश्विन २०७८, शनिबार १९:५५ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – पर्साको पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसिया चढेको गाडी रोकेर दुर्व्यवहारको प्रयास भएको छ ।

गाउँका युवाहरूको समूहले शनिबार विदाका दिन सरकारी गाडि दुरूपयोग गरेर चलाएको भन्दै आफूमाथि दुर्व्यवहारको प्रयास भएको अध्यक्ष चौरसियाले बताए ।

कार्यालयको काम विशेषले वीरगञ्ज जाने क्रममा गाउँपालिकाको वडा नम्बर २ मधुवनीमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय नजिकै मुख्य सडकमा केही युवाहरूले गाडि रोकेर आफूलाई दुर्व्यवहार गर्न खोजेको अध्यक्ष चौरसियाको भनाई छ ।

स्थानीय युवाहरू प्रमोद पटेल, मोटर वर्णवाल लगायतका आधा दर्जन बढी समूहका युवाहरूले अध्यक्ष चौरसिया चढेको ना १ झ १६८६ नम्बरको स्कार्पियो गाडीलाई रोक्ने प्रयास गरेका थिए ।

अध्यक्ष चौरसियाले आफूले पर्साका प्रमुख जिल्ला अधिकारीसँग मौखिक जानकारी लिएर गाडी प्रयोग गरेको बताएका छन् ।

पकाहामैनपुर गाउँपालिकाको युवा सञ्जालका प्रमोद पटेलले भने अध्यक्ष चौरसियाले शनिबार विदाका दिन सरकारी गाडी दुरूपयोग गर्न थालेको देखेर युवाहरूले सोधपुछ मात्रै गरेको बताएका छन् ।

सामान्य कुराकानीपछि अध्यक्ष चौरसिया आफ्नो बाटो लागेको उनी बताउँछन् । ‘दुर्व्यवहारको प्रयास भन्ने कुरा कपोकल्पित हो,’ उनी भन्छन्, ‘दुरूपयोग नहोस भनेर युवाहरूले सोधपुछ मात्रै गरेका हुन् ।’


सम्बन्धित खबरहरु