वीरगञ्ज – वीरगञ्जकाे भवानी हस्पिटलमा प्राेस्टेट सम्बन्धी २ दिने नि:शुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएकाे छ । २ दिनसम्म चलेकाे शिविरमा ६१ जनाकाे नि:शुल्क स्वास्थ्य परीक्षण गरिएकाे अस्पतालले जनाएकाे छ ।
प्राेस्टेट फाउण्डेशन नेपाल, भवानी हस्पिटल, वीरगञ्ज महानगरपालिका , लायन्स र लियो क्लब अफ वीरगञ्जकाे संयुक्त आयाेजनामा सञ्चालन भएकाे २ दिने शिविरमा काठमाण्डाैबाट आएका विशेषज्ञ चिकित्सकले प्राेस्टेटसम्बन्धी जाँच गरेका थिए ।
काठमाण्डाैबाट कन्सलटेन्ट युरोलोजिस्ट डा. दिपक रौनियार र प्राेस्टेट फाउण्डेसनका सदस्यसमेत रहेका डा. दीपक रौनियर आएका थिए ।
शिविरकाे शनिबार समापन कार्यक्रममा डा.राैनियारले नेपालमा प्राेस्टेटका बिरामीहरुकाे समस्या जटिल भई सकेकोले बेलैमा यसबारे ध्यान दिनु पर्नेमा जाेड दिए । यसकाे पहिचान गर्न सहज रहेकाे भन्दै उनले पिसाब छिन छिनमा लागे जस्तो हुने, पुरै पिसाब नभइ आधा मात्र हुने, पिसाब पोल्ने, गन्हाउने, अन्डकोष दुख्ने, पिसाब चुहिने जस्ता विभिन्न २१ लक्षण मध्ये कुनै मिल्न गए त्यो प्रोस्टेट हुन सक्ने बताए ।
![]()
भवानी हस्पिटलका प्रबन्धक राम श्रेष्ठकाे सभापतित्वमा सम्पन्न समापन समाराेहमा लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष छेडुप लामाको प्रमुख आतिथ्यता रहेकाे थियाे । समापन कार्यक्रममा डा. नेजामुदिन, डा. तेजनाथ तिवारी, हिम्मत सिंह लेकालि, प्रकाश थापा लगायत लायन्स र लियोका स्वयम् सेवकको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रमकाबीच भवानी हस्पिटल र लायन्स क्लब अफ वीरगञ्जले संयुक्त रूपमा प्रोस्टेट फाउन्डेसन नेपाल र डा. दिपक रौनियारलाई मायाको चीनो प्रदान गरेको थियो । कार्यक्रममा बलराम श्रेषठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सजीकरण लायन्स क्लब अफ वीरगञ्जका सचिव पप्पू श्रीवास्तवले गरेका थिए ।
