वीरगञ्ज – नेपालमा चर्चित अनलाइन सपिङ प्लेटफर्म दराजले दशैँ धमाका अफरमा डिस्काउन्टका नाममा लुट मच्चाएको पाइएको छ ।
दशैँ धमाका अफर भन्दै विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल लगायतमा भव्य विज्ञापन गरेको दराजले डिस्काउण्टको नाममा भने लुट मच्चाएको पाइएको हो ।
दराजले आफ्नो अनलाइनमा राखेका अधिकांस सामान बजारमुल्य भन्दा २० प्रतिशतभन्दा महंगोमा राखेको छ । कतिपय सामान त्यो भन्दा पनि बढी मूल्य हुने गरी राखिएको छ । बढी मूल्य राखेर त्यसमा केही प्रतिशत डिस्काउन्ट भन्दै अहिले दराजले दशैँ धमाका अफर भन्दै प्रचार प्रसार गरिरहेको हो ।
अनलाइन सपिङको सामान्य र सर्वमान्य सिद्धान्त त्यहाँबाट किनिने सामान सस्तो हुनु पर्छ भन्ने हो । तर दराजमा राखिएका सामानका लिस्ट हेर्दा सामान्य बजारमा गएर पसलमा राखिएका सामान किन्दा भन्दा बढी महंगो मूल्यका छन् ।
दराजले भने अनलाइनमा देखिएका सामान भेण्डरले बेच्ने र उनीहरुले नै त्यसको मूल्य राख्ने भन्दै त्यहाँ देखिएका मूल्य आफूहरुले नराखेको भन्दै तर्कने गरेको छ ।
तर दराजका भेन्डर भने दराजले १५ प्रतिशत कमिसन लिने हुनाले आफूहरुले पहिले नै बढाएर मूल्य राख्नु पर्ने बाध्यता भएको सुनाउँछन् ।
