आज:  | Tue, 21, Apr, 2026

वीरगञ्ज नाका औपचारिक रुपमा सञ्चालन, भारतीय निजी सवारीकाे सहज आउजाउ

Avatar photo दिशा निर्देश १५ आश्विन २०७८, शुक्रबार १२:११ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – लामो समयदेखि बन्द रहेको नेपाल भारत सीमा आजबाट औपचारिक रुपमा संचालनमा आएको छ ।

नेपालकै मुख्य प्रवेशद्वारको रुपमा रहेको वीरगञ्जबाट शुक्रबार बिहान भारतीय निजी सवारी भित्रिएसँगै औपचारिक रुपमा सीमा नाका सञ्चालनमा आएको हो ।

कोभिड महामारीका कारण गएको करिब २ वर्षदेखि नाकाबाट अत्यावश्यक मालसामान बोकेका बाहेक निजी भारतीय सवारी साधन आवतजावत बन्द थियो ।

गएको असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले देशभरका सबै सीमा नाका खुला गर्ने निर्णय गरे अनुसार शुक्रबार बाट वीरगञ्ज नाका सञ्चालनमा आएको हो । अन्तरमन्त्रालयबीचको समन्वय अभावमा निर्णय भएको १० दिनपछि मात्रै नाका सञ्चालनमा आउन सकेको हो ।

वीरगञ्जको मुख्य प्रवेशद्वार शंकराचार्य गेटमा औपचारिक कार्यक्रम गरी भारतीय बजार रक्सौलबाट भारतीय निजी सवारीको औपचारिक आवागमन गराइएको हो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले पैदल यात्रुहरुको आवागमन यसअघिदेखि नै जारी रहे पनि आजदेखि भारतीय निजी सवारी सञ्चालनमा आउनुले नेपाल भारतबीचको सम्बन्धमा अझै आत्मियता ल्याउने धारणा व्यक्त गरे ।

भारतीय निजी सवारीबाट नेपाल प्रवेश गर्ने यात्रुले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता भने राख्नु पर्ने छ । जसमा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट, कोभिड खोप लिएको प्रमाण, नेपालमा होटल बुकिङ गरेको कागजात अनिवार्य भएमात्रै भन्सार कार्यालयले अस्थायी प्रवेश अनुमति पास दिने छ ।

अनिवार्य गरिएका विषय यात्रुले पुरा गरे नेपाल प्रवेश गर्न सहज व्यवस्था मिलाइएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

नाकाबाट भारतीय निजी सवारी सञ्चालनमा आएसँगै अब भारतीय पर्यटकहरु भित्रिने र थला परेको होटल एवम् पर्यटन व्यवसायले गति लिने होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले विश्वास व्यक्त गरे ।


सम्बन्धित खबरहरु