वीरगञ्ज – प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य प्रह्लाद गिरीले उपेन्द्र यादवले समाजवादको मुद्धा उठाउनु हास्यास्पद रहेको बताएका छन् ।
मधेस र मधेसीको अधिकारमा कुठाराघात गर्दै २ करोडको पजेरो चढ्ने व्यक्तिले समाजवादको कुरा गर्नु फेरि पनि मधेसी नागरिकको अधिकारमाथि कुठाराघात गर्ने षड्यन्त्र भएको बताए ।
लोकतान्त्रिक समाजवादी पार्टीको वीरगञ्ज महानगरस्तरीय युवा भेलालाई सम्बोधन गर्दै उनले अबको चुनावमा उनीहरुको कुरामा नभुल्लिन पनि आग्रह गरे ।
प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै उनले मधेसको शिक्षा, स्वास्थ्यको अवस्था अहिले झनै विग्रिएको बताए ।
कार्यक्रममा पार्टीका नेता राजेशमान सिंहले युवाहरुले नै देश बदल्ने क्षमता राख्ने भन्दै आउँदो निर्वाचनमा त्यो क्षमता देखाउनुपर्नेमा जोड दिए ।
निर्वाच केन्द्रित कार्यक्रममा लाग्न निर्देशन दिँदै उनले महानगरका हरेक वडामा समिति विस्तार गर्न आग्रह गरे ।
यस्तै नेता शशीकपुर मियाँले वीरगञ्ज महानगरपालिका व्यापारिको हातमा सुम्पनु दुर्भाग्य भएको भन्दै अहिले यहाँका नागरिकहरु ठगिएको बताए ।
कार्यक्रममा नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल, वडाअध्यक्ष बैजुलाल स्वर्णकार, संतोष तिवारी, रेयाज मियाँ, मिनु ठाकुर, सुजित गिरी, माया गुप्ता लगायतले सम्बोधन गरेका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टीको युवा नगर अध्यक्ष राजु गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन उमेशलाल सहनीले गरेका थिए ।
