विन्दुभुषण साह
पकहामैनपुर – जनप्रतिनिधिहरुबीच दलीय स्वार्थका कारण परिषद हुन नसक्दा पोखरिया नगरपालिकाको काम प्रभावित भएको छ ।
आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरेर योजनाहरु कार्यान्वन चरणमा जानुपर्ने अवस्थामा अहिलेसम्म पनि परिषद नहुँदा नगरपालिकाको विकास निमार्ण लगायत कर्मचारीहरुको तलब निकासाको कामसमेत प्रभावित भएको हो ।
१४ वटा स्थानीय तह रहेको पर्सा जिल्लाको १२ वटा स्थानीय तहहरुमा परिषद सम्पन भई कामसमेत सुरु भईसकेको अवस्थामा पोखरिया नगरपालिका र धोबिनी गाउपालिको परिषद हुन सकेको छैन ।
१० वटा वडा रहेको पोखरिया नगरपालिकाका जनप्रतिनिधिहरुबीच बजेट बाँडफाडको बिषयलाई लिएर आपसी समझदारी नहुँदा नगर परिषदमा ढिलाई भएको एक वडाध्यक्ष बताउँछन् ।
नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भए पनि हरेक वडामा विनियोजन हुने बजेट निर्धारण हुन नसक्दा हालसम्म पनि परिषद हुन नसकेको पोखरिया नगरपालिकाकी उप–प्रमुख सलमा खातुनले बताइन ।
उप–प्रमुख खातुनका अनुसार बजेट निर्धारण समितिको बैठक मेयरले बोलाउने हो तर समितिको बैठक नै बस्न नसकेपछि परिषद गर्न समस्या भएको हो । बजेट निर्धारण समितिको बैठकले हालसम्म बजेटबारे टुंगो नलगाएकोले परिषद अनिश्चित भएकाे उनी बताउँछिन् ।
पोखरिया नगरपालिका एक वडाध्यक्षका अनुसार बजेट बाँडफाडको बिषयमा मेयरसँग कुरा नमिल्दा परिषद हुन सकेकाे छैन । उनका अनुसार परिषद हुन नसक्नुमा मेयर दीपनारायण रौनियारको मुख्य स्वार्थ रहेको छ ।
मेयर रौनियारले आफ्नो मात्र स्वार्थ पुर्ती गर्न आफूहरुलाइ कम बजेट छुट्याउन भनेपछि आफूहरुले नमानेको ती वडाध्यक्षकाे भनाई छ । मेयर रौनियारले आफूहरुले भने अनुसारको बजेट नछुट्याए परिषद कुनै पनि हालतमा हुन नसक्ने वडाध्यक्षहरु बताउँछन् ।
पोखरिया नगरपालिकामा नगर प्रमुख रौनियार अल्पमतमा रहेका कारण पनि परिषदमा ढिला हुन पुगेकाे हाे । यस सम्बन्धमा मेयर रौनियारसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
