आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा आजबाट चन्द्रदर्शनको सेवा सुरु, ऋण र बचत संकलनमा मात्रै नरुमल्लिन आग्रह

Avatar photo दिशा निर्देश ४ आश्विन २०७८, सोमबार १३:३३ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – वीरगञ्जमा आजबाट नयाँ सहकारी थपिएको छ ।
चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले आजबाट  सेवा सुरु गरेसँगै वीरगञ्जमा नयाँ सहकारी थपिएको हो ।

चितवन केन्द्रीय कार्यालय रहेको संस्थाले आफ्नो शाखाको रुपमा वीरगञ्जमा सेवा सुरु गरेको हो ।

वीरगञ्ज ६ आदर्शनगरमा रहेको रुंगटा महलमा कार्यालय स्थापना गरेर संस्थाले आफ्नो सेवा अगाडी बढाएको छ ।

संस्थाको आज औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले सहकारी संस्थाले बचत संकलन र ऋण लिने दिनेमा मात्रै ध्यान नदिई उत्पादनमुलक क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे ।

वीरगञ्जमा साना उद्यमीहरु प्रसस्त रहेकाले उनीहरुसंगको सहकार्यमा उत्पादनमुलक काम गर्न सुझाव दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले वीरगञ्जमा अवैध वित्तीय कारोबारलाई रोक्न चुनौती रहेको देखिएको भन्दै सहकारीले वित्तीय कारोबारलाई व्यवस्थित बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सानोपाइला सहकारी संस्था वीरगञ्जकी प्रमुख तरन्नुम खातुनले सहकारीको भिडमा स्थापना भएको चन्द्रदर्शनले छुट्टै पहिचान बनाउन सकोस भन्ने शुभकामना दिइन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत राजन पौडेलले
वीरगञ्जमा संस्थाको सातौ शाखाको रुपमा कार्यालय स्थापना भएको भन्दै सेवाग्राहीको हितलाई ध्यानमा राखेर आफूहरु सेव दिन तयार रहेको बताए ।

संस्थामा सदस्य बनेका सेवाग्राहीले जुन कुनै शाखाबाट पैसा राख्न र झिक्न सक्ने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।

संस्थाले चितवन बाहेक काठमाण्डौ, भक्तपुरबाट सेवा दिइरहेकोमा आजदेखि वीरगञ्जबाट पनि सेवा सुरु गरेको हो ।

आजबाट चन्द्रदर्शनले सेवा सुरु गरेसँगै वीरगञ्जमा मात्रै सहकारी संस्थाको संख्या  १ सय ९३ पुगेको छ ।

संस्थाका अध्यक्ष रन्दीप श्रीवास्तबको सभातित्वमा सम्पन्न उद्घाटन कार्यक्रम सहकारी विज्ञ केशव थापा, व्यवसायी सुरेश रुंगटा, ग्रिन सिटीका जयप्रकाश खेतान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन सञ्चारकर्मी निलिमा पौडेलले गरेकी थिइन् ।


सम्बन्धित खबरहरु