आज:  | Tue, 21, Apr, 2026

अनेरास्ववियु क्रान्तिकारी पर्सामा समानान्तर कमिटी, साह बहुमतबाट अध्यक्ष चयन, पटेललाई नेताहरुको आशिर्वाद

Avatar photo दिशा निर्देश ३ आश्विन २०७८, आईतवार १९:४६ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी पर्साको विवाद झनै उग्र बनेको छ ।

संदिप विक्रम साह समूहले आइतबार विज्ञप्ति जारी गर्दै गएको भदौ ३० गते भएको सम्मेलनबाट चयन भएका बहुमत पदाधिकारी एवं सदस्यहरुले साहलाई अध्यक्षमा चयन गरेको जनाएको छ ।

अध्यक्षमा दुई जनाको दावी परेपछि अध्यक्षबाहेक अन्य पदाधिकारी सोही दिन सर्वसम्मत चयन भएका थिए । तर अध्यक्षमा निवर्तमान जिल्ला संयोजक कविराज पटेल र सहसंयोजक सन्दीपविक्रम साह दावेदार थिए ।

तर केही व्यक्तिले शुक्रबार राति अध्यक्षमा पटेल चयन भएको भन्दै सामाजिक सञ्जालमा बधाईसहितका विवरण सार्वजनिक गरेपछि अध्यक्षका अर्का प्रत्यासी संदिप विक्रम साहले विरोध जनाएका थिए ।

अध्यक्षमा विवाद कायमै रहेपछि सम्मेलनबाट सर्वसम्मत चयन भएका उपाध्यक्ष बब्लु कुशवाहा, सह सचिव लहावर राम, कोषाध्यक्ष सुष्मा चौरसिया, सदस्यहरु रबिन्द्र रौनियार, संजय साह, चन्दन सिंह, निसा नेपाली लगायत बहुमत सदस्यले आइतबार संदिप विक्रम साहलाई अध्यक्षमा चयन गरेका छन् ।

बहुमत सदस्यले अध्यक्षमा संदिपलाई चयन गरेसँगै कविराज पक्ष अल्पमतमा परेको छ । दुबैले आफू नै अध्यक्ष रहेको भन्दै दावी गर्दै आइरहेका छन् ।

दुई जनाको दावेदारी परेपछि अध्यक्ष चयनको टुंगो लगाउन पार्टीका जिल्ला अध्यक्ष विजय महतो र प्रदेश सदस्य रामदरश कुशवाहालाई जिम्मेवारी दिइएको थियो ।

तर दुबै जनालाई कुनै जानकारी नै नदिई महानगर इन्चार्ज रहबर अन्सारी, विद्यार्थी संगठनका केन्द्रीय सदस्य एवं प्रदेश सहसंयोजक प्रभाकर गुप्ता, पर्सा इन्चार्ज जुवैर आलम लगायतका केही व्यक्तिले कविराजलाई अध्यक्षको जिम्मेवारी दिइएको प्रचार गरेका थिए ।

तर आइतबार बहुमत सदस्यको बैठकले अध्यक्षमा संदीप विक्रम साहलाई चयन गरेसँगै क्रान्तिकारी पर्साको विवाद झनै उग्र बनेको हो ।

दुबै पक्षले आफूहरु आधिकारीक रहेको दावी गरेको छ । यसले पर्सामा क्रान्तिकारीको दुइवटा समानान्तर कमिटी भएको छ ।


सम्बन्धित खबरहरु