आज:  | Tue, 21, Apr, 2026

संविधान दिवसमा पर्साबाट ७ जना विभूषित

Avatar photo दिशा निर्देश ३ आश्विन २०७८, आईतवार ०९:३८ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – संविधान दिवसका दिन सरकारले प्रदान गर्न लागेको मानपदवी, अलंकार र विभूषणबाट पर्साका ७ जना सम्मानित हुने भएका छन् ।

कोभिड महामारीमा ज्यानको बाजी राखेर सेवामा खटेका चिकित्सकदेखि यहाँका व्यवसायी, सामाजिक अभियन्ता, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकार गरी ७ जना विभूषित हुन लागेका हुन् ।

वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलाई सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित गर्ने निर्णय सरकारले गरेको छ । ९२ वर्षको उमेरमा पनि सक्रिय रुपमा नागरिकको सेवामा खटिएकी कार्कीलाई सरकारले विभूषित गर्ने निर्णय गरेको हो ।

यस्तै कोभिड महामारीका बेला अहोरात्र संक्रमितको उपचारमा खटिएका नारायणी अस्पताल वीरगञ्जका वरिष्ठ चिकित्सक डा.निरज सिंहलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मानित गर्न लागिएको छ । पर्साका ४ जनाले यो पदवी प्राप्त गरेका छन् । समाजसेवी एवं व्यवसायी संजय कुमार खेतान र समाजसेवी एवं व्यवसायी सत्यनारायण क्याललाई पनि प्रबल जनसेवाश्री पदवीबाट सम्मानित गर्न लागिएको छ ।

पर्सा जिल्लाको सुरक्षा व्यवस्थाको कमाण्ड सम्हालेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे पनि प्रबल जनसेवाश्री पुरस्कारबाट सम्मानित हुनुहुने भएको छ ।

यस्तै लामो समयदेखि पर्सामा सकृय पत्रकारीता गर्दै आएका बृजलाल पासवानले जनसेवाश्री पदवी प्राप्त गर्न लाग्नुभएको छ । जनसेवाश्रीबाट अभियन्ता मुस्कान खातुन पनि सम्मानित हुन लागेकी छिन् । खातुन २०७६ भदौ २० गते एसिड प्रहारबाट घाइते भएकी थिइन् ।

लामो अस्पताल बसाईपछि निको भएकी खातुन अहिले एसिड पीडितको आवाज बन्दै यस्तो अपराधमा संलग्नलाई कारवाही गराउन आवश्यक ऐन कानुन बनाउन दवाब दिँदै आइरहेकी छिन् । खातुनकै दवाबका कारण सरकारले एसिड विक्रीवितरणमा कडाइ गर्न एसिडसम्बन्धी अध्यादेश ल्याउनु परेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गर्ने कार्यक्रम छ ।


सम्बन्धित खबरहरु