वीरगंज – माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी पर्सामा नेतृत्व विवादले भाडभैलो मच्चेको छ ।
केही व्यक्तिले आफूखुशी अध्यक्ष भन्दै गरेको घोषणा आफूहरुलाई मान्य नहुने भन्दै उपाध्यक्ष लगायत समितिका २८ जनाले विज्ञप्ति निकालेर विरोध जनाएसँगै क्रान्तिकारीको भाडभैलो छताछुल्ल भएको हो ।
निवर्तमान जिल्ला संयोजक कविराज पटेल र सहसंयोजक सन्दीपविक्रम साह अध्यक्षको दावेदार थिए । तर केही व्यक्तिले शुक्रबार राति सहमति जुटेसँगै अध्यक्षमा पटेल चयन भएको भन्दै सामाजिक सञ्जालमा बधाईसहितका विवरण सार्वजनिक गरेका थिए ।
सामाजिक सञ्जालमा बधाई आएको १२ घण्टा पनि नवित्दै अध्यक्षका दावेदार सन्दीपविक्रम साह तथा नवगठित जिल्ला समितिका उपाध्यक्ष बब्लु कुशवाहासहित २७ पदाधिकारी र सदस्यले विज्ञप्ति जारी गर्दै अध्यक्ष चयनमा आफूहरुको विमति रहेको बताएका छन् ।
छैटौं जिल्ला अबिधेशनबाट जिल्ला अध्यक्ष बाहेक अन्य पदाधिकारी सर्वसहमतले चयन गरिए पनि अध्यक्षमा दुई जनाको दावेदारी परेपछि सहमति जुट्न सकेको थिएन ।
दुई जनाको दावेदारी परेपछि अध्यक्ष चयनको टुंगो लगाउन पार्टीका जिल्ला अध्यक्ष विजय महतो र प्रदेश सदस्य रामदरश कुशवाहालाई जिम्मेवारी दिइएको थियो ।
तर दुबै जनालाई कुनै जानकारी नै नदिई केही व्यक्तिहरुले आफूखुशी अध्यक्ष चयन भएको भन्दै हल्ला फैलाएको प्रति आफूहरुको आपत्ति रहेको जारी विज्ञप्तीमा उल्लेख छ ।
महानगर इन्चार्ज रहबर अन्सारी, विद्यार्थी संगठनका केन्द्रीय सदस्य एवं प्रदेश सहसंयोजक प्रभाकर गुप्ता, पर्सा इन्चार्ज जुवैर आलम लगायतका केही व्यक्तिले आफूलाई ठूलो नेता ठानेर अध्यक्ष चयनको हल्ला चलाएको स्रोतको दावी छ ।
सहमतीबाट चयन हुन नसकेको अध्यक्ष कोठे तवरले सार्वजनिक गर्ने नभई निर्वाचनबाट चयन हुनुपर्ने अध्यक्षका दाबेदार रहेका संदिप बिक्रम साह बताउँछन् ।
विज्ञप्तिमा साहसहित जिल्ला उपाध्यक्ष बब्लु कुशवाहा, सह सचिव लहावर राम, कोषाध्यक्ष सुष्मा चौरसिया, सदस्यहरु रबिन्द्र रौनियार, संजय साह, चन्दन सिंह, प्रियांका यादव, पुजा चौधरी, निसा नेपाली लगायतकाले हस्ताक्षर गरेका छन् ।
![]()
![]()
