वीरगञ्ज – माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी पर्साको छैटौ जिल्ला सम्मेलनले निवर्तमान संयोजकलाई नै अध्यक्षको जिम्मेवारी सुम्पेको छ ।
अधिवेशनले निवर्तमान संयोजक कविराज पटेलको अध्यक्षतामा ५१ सदस्यिय जिल्ला समिति चयन गरेको छ । अधिवेशनको बन्दसत्रमा पनि नेतृत्वको बारेमा कुरा नमिलेपछि जिल्लाका नेताहरुले नेतृत्वको विवाद मिलाउनु परेको थियो ।
भदौ ३० गते अधिवेशनको बन्दसत्रले अन्य पदाधिकारी सर्वसम्मत चयन गरेपछि नेतृत्वका लागि दुईजनाको दावी परेपछि सहमति जुट्न सकेको थिएन ।
तत्कालिन संयोजक कबिराज पटेल र सहसंयोजक संदीपविक्रम शाह दुवैले नेतृत्वमा दावी गरेपछि कसलाई अध्यक्षमा चयन गर्ने भन्ने विवाद भएको थियो । नेतृत्वको विषयमा दुईदिनसम्म विवाद चल्दा जिल्ला सम्मेलनले चयन गरेका पदाधिकारीको नामावली रोकेर राख्नु परेको थियो ।
नेतृत्वमा विवाद भएपछि पार्टीका नेताले हस्तक्षेप गरेर नेतृत्व चयन गर्नु परेको स्रोतको दावी छ ।
पार्टी जिल्ला अध्यक्ष विजय महतो, महानगर इन्चार्ज रहबर अन्सारी, प्रदेश समिति सदस्य रामदरश कुश्वाहा र विद्यार्थी संगठनका केन्द्रीय सदस्य एवं प्रदेश सहसंयोजक प्रभाकर गुप्ता, पर्सा इन्चार्ज जुवैर आलम, स्वयंसेवक विभाग प्रदेश २ संयोजक इश्क कुमार लगायतका नेताहरुबीच कुरा मिलेपछि मात्रै पटेललाई अध्यक्षमा चयन गर्ने निर्णय भएको हो ।
समितिको बरिष्ठ उपाध्यक्ष हिमाल सागर कुँवर, उपाध्यक्षद्वयमा बब्लु कुश्वाहा र सोनु शेख, सचिवमा सोयब आलम, सहसचिवमा धर्मेन्द्र पटेल, बबिता साह र लहावर राम चयन भएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा सुष्मा चौरसिया सहित ५१ सदस्यिय समिति चयन भएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रदेश सह–संयोजक प्रभाकर गुप्ताले जानकारी दिए ।
