वीरगञ्ज – पर्साका प्रमुख जिल्ला अधिकारी कार्यसम्पादन मुल्यांकनमा फेल भएका छन् ।
गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन सम्झौता मुल्यांकनको नतिजाले पर्साका प्रमुख जिल्ला अधिकारी तोकिएको कार्यसम्पादन गर्न फेल भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयको समग्र कार्यसम्पादन स्तरमा वृद्धि गरी नतिजामुखी बनाउन आर्थिक वर्ष २०७५/०७६ देखि गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच कार्यसम्पादन सम्झौता हुँदै आएको छ । गएको आर्थिक वर्षमा समेत त्यही अनुरुप सम्झौता भए पनि सम्झौता बमोजिम काम गर्न भने पर्साका प्रमुख जिल्ला अधिकारी असफल भएका हुन् ।
शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय÷सदाचार र आर्थिक अनुशासनसँग सम्बन्धित कार्यसम्पादनमा पर्साले न्यून अंक प्राप्त गरेको छ ।
यसले सम्झौता अनुरुप ६ वटै विषयगत क्षेत्रमा पर्साका प्रमुख जिल्ला अधिकारीले काम गर्न नसकेको देखाएको हो ।
आर्थिक वर्ष २०७७/०७८ को सुरुवातमा पर्साको प्रमुख जिल्ला अधिकारीको रुपमा आस्मान तामाङ थिए भने उनको सरुवा भएपछि गएको चैत २२ गतेदेखि पिताम्बर घिमिरे पर्साको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् ।
यस्तै मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार झापा, अर्घाखाँची र रुकुम (पूर्व) का प्रमुख जिल्ला अधिकारीको कार्यसम्पादन मुल्यांकनमा अति उत्कृष्ट देखिएको छ । पर्सासहित २१ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु भने कार्यसम्पादन मुल्यांकनमा पुछारमा परेका हुन् ।
![]()
