काठमाण्डाै – साताको अन्तिम दिन शेयर बजार परिसूचक एकैछिनमा ठूलो अंकमा घटेको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको बजारमा १:३० बजेसम्म करिब ८८ अंकले घटेको छ ।
शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट देखिदा दुईवटा बाहेकका सबै कम्पनीहरु घटेका छन् । यद्यपि, २ म्युचुअल फण्ड र एउटा डिबेञ्चर भने बढेको छ । त्यसबाहेकका सबै कम्पनीको शेयर मूल्य घटेर राताम्मे देखिएको छ ।
बढ्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र युनिलिभर नेपाल लिमिटेड देखिएको छ । कारोबार खुला भएको २ घण्टामा मनकमनाकाे शेयर ६९ रुपैयाँले बढेर ८८७ रुपैयाँ पुगेको छ भने युनिलिभरकाे १५० रुपैयाँ बढेर १९७०० पुगेकाे छ । २१६ कम्पनीको कारोबार हुँदा २१४ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।
