आज:  | Tue, 21, Apr, 2026

सुन पसलमा हुण्डी कारोबार, सञ्चालकसहित २ पक्राउ

Avatar photo दिशा निर्देश ३१ भाद्र २०७८, बिहीबार ०८:१५ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – वीरगञ्जको माइस्थान चोकमा रहेको सुन पसलबाटै हुण्डी कारोबार हुने गरेको खुलेको छ । बुधबार दिउँसो माइस्थान चोकमा रहेको के.पी.स्वर्ण कला केन्द्रमा छापामारी गरी स्रोत नखुलेको ३८ लाख भन्दा बढी रुपैयाँसहित सञ्चालक पक्राउ परेसँगै सुन पसलबाट हुण्डी भइरहेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा छापामारी गरी सुन पसलबाट ३८ लाख ५१ हजार १ सय रुपैयाँ स्रोत नखुलेको पैसासहित सुन पसल सञ्चालक ४५ बर्षका कन्हैया प्रसाद सोनार र सोही पसलमा काम गर्ने २० वर्षका दीपक कुमार सर्राफलाई पक्राउ गरेको हो ।

सोनारले आफ्नै घरमा सुन पसल सञ्चालन गर्दै आएका थिए ।

यसअघि पनि प्रहरीले सोही पसलमा छापामारी गरेर स्रोत नखुलेको ४१ लाख ९२ हजार नगद र २ किलो ९ सय ग्राम चाँदीसहित ८ जनालाई पक्राउ गरेको थियो ।
सोनारले सुन पसलको आडमा हुण्डीको कारोबार विगतदेखि नै चलाउँदै आएको जानकारहरु बताउँछन् ।

पछिल्लो समय सुनचाँदी विक्रीमा कमी आएपछि सोनारले हुण्डी कारोबारलाई सञ्जालकै रुपमा अघि बढाएका थिए ।

पक्राउ परेका दुबैलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

यस्ताे छ कारबाहीकाे व्यवस्था
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा हुण्डी कारोबार अवैध र यस्तो कार्य गरे कसुर गरेको मानिने र त्यही अनुसारको कारबाही हुने व्यवस्था छ ।

कसैले इजाजतपत्र नलिई बैकिङ तथा वित्तीय कारोबार गर्न नहुने व्यवस्था यो ऐनले गरेको छ । इजाजत पत्र नलिइए गरिने सबै कारोबार ऐन अनुसार कसुर गरेको मानिने ऐनको दफा १०३ को उपदफा ‘क’ मा उल्लेख छ । त्यस्तै यस्तो कसुर गर्नेलाई दण्ड सजायको व्यवस्था पनि ऐनको दफा १०४ ले गरेको छ ।

दफा १०४ को उपदफा ‘क’ ले यदी यस्तो कसुर गरेमा बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना र पाँच वर्षसम्म कैद हुने व्यवस्था गरेको छ ।


सम्बन्धित खबरहरु