वीरगञ्ज – कक्षा १२ को आजबाट सुरु भएको परीक्षामा अर्काको नामबाट परीक्षा दिने एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले पर्साको पर्सागढीबाट पक्राउ गरेको छ ।
पर्सागढी नगरपालिका बर्वाटाँडीमा रहेको नेपाल राष्ट्रिय माद्यमिक विद्यालय परीक्षा केन्द्रबाट सन्दीप दास थारुको परीक्षा दिने नक्कली परीक्षार्थी राजकुमार दासलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
कक्षा १२ को आज अंग्रेजी विषयको परीक्षा भएको छ । सूचनाको आधारमा प्रहरी चौकी बढनियारको टोलीले जाँच गर्दा सन्दीपको फोटो उप्काएर राजकुमारको फोटो टाँसेर परीक्षा दिइरहेको भेटेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
सन्दीप र राजकुमार सोही नगरपालिकाको वडा नम्बर ८ का स्थानीय बासिन्दा हुन् ।
