वीरगञ्ज – वीरगञ्जमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको छैठौं जिल्ला सम्मेलन जारी छ । बुधबार १२ बजेबाट सुरु भएको सम्मेलनलाई सम्बोधन गर्न संगठनका केन्द्रीय अध्यक्ष रन्जित तामाङ सम्मेलनस्थलमा छन् ।
सम्मेलनलाई लिएर पार्टी दुई गुट विभाजित भएको छ । केन्द्रीय सल्लाहकारसहितका केही नेताहरुले सम्मेलन रोक्न माग गरेको भए पनि उनीहरुको कुरै नसुनी जिल्ला अध्यक्ष लगायतका नेताहरुले सम्मेलनलाई अघि बढाएका छन् ।
टाउनहलमा जारी सम्मेलनको उद्घाटना सत्रमा पार्टीका जिल्ला अध्यक्ष विजय महतो, महानगर इन्चार्ज रहबर अन्सारी, जिल्ला सदस्य एवं अनेरास्ववियु क्रान्तिकारी प्रदेश २ का सहइन्चार्ज प्रभाकर गुप्ता सहितका नेताहरुको सहभागिता रहेको छ ।
सम्मेलनको उद्घाटन सत्रमा आयोजित कार्यक्रममा भोजपुरी गायक सुनिल पंडितले गाएको भोजपुरी गितमा सबै नेता झुमेका थिए ।
संगठनका केन्द्रीय अध्यक्ष तामाङ, पार्टीका जिल्ला अध्यक्ष महतो लगायत मंचमा रहेका सबै नेता गायक पंडितको गितमा नाचेका हुन् ।
उद्घाटन सत्रमा बोल्ने अधिकांश वक्ताहरुले पार्टी र संगठनका लागि केही काम नगरेकाहरुले बाहिर विज्ञप्ति निकालेर विरोध जनाएको आरोप लगाए । गुटको राजनीति गर्ने भए अन्य पार्टीमा प्रवेश गरेर गर्न पनि उनीहरुले विरोध गर्ने नेताहरुलाई सुझाव दिए ।
सम्मेलनमा सहभागि हुन जिल्लाको १४ वटै पालिकाबाट प्रतिनिधि आएका छन् । सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने छ ।
