वीरगञ्ज – वीरगञ्जमा बुधबार (आज) हुन लागेको अखिल क्रान्तिकारीको छैठौं जिल्ला सम्मेलन विवादमा परेको छ ।
पार्टीलाई जानकारी नै नदिई सम्मेलन आयोजना गर्न लागिएको भन्दै सम्मेलन रोक्न पार्टीका केन्द्रिय सल्लाहकारसहितका नेताहरुले माग गरेका छन् । उनीहरुले पार्टीको प्रदेश–२ कमिटी, क्रान्तिकारीको केन्द्रिय कार्यालय र क्रान्तिकारीको प्रदेश–२ कमिटीलाई पत्रै लेखेर सम्मेलन रोक्न माग गरेका हुन् ।
पार्टीलाई कुनै जानकारी नभएको तथा कहीँ कतै पनि सल्लाह नगरी कार्यक्रम गर्न खोजिएकाले गम्भीर ध्यानाकर्षण भएको उनीहरुले बताएका छन् ।
संकिर्ण मानसिकताका साथ केहि निश्चित व्यक्तिलाई मात्र संगठनको नेतृत्वमा राख्ने अभिप्रायले सम्मेलन आयोजना गर्न लागेकाले सम्मेलन रोकेर संगठनलाई वृहत सहभागितामुलक बनाउन पनि उनीहरुको माग छ ।
पार्टीका केन्द्रिय सल्लाहकार जालिम मियाँ, प्रदेश–२ समिती सदस्यहरु छोटेलाल प्रसाद यादव, बाबुराम कौशिक, रामबाबु बैठा, संघीय सांसद शेष चाँद तारालगायत पर्सा जिल्ला समितीका सदस्यहरुले सम्मेलनको विरोध गर्दै ध्यानाकर्षण पत्र पठाएका हुन् ।
सम्मेलनलाई सम्बोधन गर्न क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ आउने कार्यक्रम छ । संगठनका अध्यक्ष नै गुटगत राजनीति प्रश्रय गर्न लागि परेको भन्दै यसले पार्टी र संगठन दुवैलाई कमजोर बनाउने पार्टीका केन्द्रीय सल्लाहकार जालिम मियाँ बताउँछन् ।
संगठनको सम्मेलन बुधबार बिहान ११ बजेदेखी शुरु हुने भनिएको सम्मेलन रोक्न पार्टीका केन्द्रिय सल्लाहकारसहितका नेताहरुले पार्टीको प्रदेश–२ कमिटी, क्रान्तिकारीको केन्द्रिय कार्यालय र क्रान्तिकारीको प्रदेश–२ कमिटीलाई पत्र लेखेका छन्।
अखिल क्रान्तिकारीको छैठौं पर्सा जिल्ला सम्मेलन वीरगञ्जको टाउनहलमा बुधबार बिहान ११ बजेदेखि सुरु हुने र आवश्यक सबै तयारी भइसकेको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य एवं प्रदेश सहसंयोजक प्रभाकर गुप्ताले जानकारी दिए ।
![]()
![]()
