काठमाण्डाै – आज बुधवारदेखि कक्षा १२ को परीक्षा हुँदै छ । त्यसका लागि आवश्यक सबै तयारी सकिएकाे राष्ट्रिय परीक्षा बाेर्डले जनाएकाे छ ।
सबै विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताए ।
परीक्षा बाेर्डका अध्यक्ष पाैडेलका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरूलाई भने पछि छुट्टै व्यवस्था गरिनेछ । विद्यार्थीले आफू सङ्क्रमित भएको प्रमाणसहित परीक्षामा सामेल हुन नपाएको जानकारी गराउने विद्यार्थीलाई पछि पनि परीक्षा दिन पाउने व्यवस्था गरिने उनले बताए ।
परीक्षाका लागि तयार पारिएका प्रश्न पत्र पनि आजै बिहान साढे १० बजेसम्ममा अनलाइन माध्यमबाट हरेक परीक्षा केन्द्रमा पुर्याइदै छ । अनलाइन मार्फत आएकाे प्रश्नपत्र विद्यालयले आवश्यक प्रकृया पुरा गरेर विद्यार्थीलाई उपलब्ध गराउने छ ।
यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आजदेखि हुन लागेकाे हाे ।
