वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालले रिक्त पद पूर्ति गर्न मंगलबारबाट चिकित्सक स्वास्थ्यकर्मीको मौखिक परीक्षा लिँदै छ ।
विभिन्न पदमा भर्नाका लागि आह्वान गरेकामध्ये आवेदन दिएकाहरुको भोलि (मंगलबार)बाट मौखिक परीक्षा लिन लागिएको अस्पतालले सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।
गएको साउनको ३२ गते सूचना प्रकाशित गर्दै अस्पतालले विभिन्न विषयका (चिकित्सक, स्टाफनर्स तथा अनमी, अहेब) १७ जना करार सेवामा कर्मचारी भर्ना गर्न विज्ञापन आह्वान गरेकोभए पनि अहिले १३ जनामात्रै छनौट गर्न लागेको सूचनामा उल्लेख छ ।
विज्ञापन माग गरिए अनुसार कन्सल्टेन्ट युरो सर्जन, कन्सल्टेन्ट न्यूरोलोजिष्ट, कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट, कन्सल्टेन्ट रेडियोलोजिष्ट, कन्सल्टेन्ट साइकाइट्रिष्ट पदमा एक/एक जना छनौट गर्ने भनिएको थियो । तर अस्पतालले निकालेको सूचना अनुसार कन्सल्टेन्ट रेडियोलोजिष्ट बाहेक अन्य पदमा भने विशेषज्ञ चिकित्सक अहिले भर्ना नगर्ने भएको छ ।
८ जना स्टाफ नर्स, ३ जना अहेब र १ जना अनमीका लागि भने भोलीबाट मौखिक परिक्षा हुने छ ।
स्टाफ नर्स ८ जनाका लागि ५३ जनाले आवेदन दिएका छन् । यस्तै १ जना अनमीका लागि ११ जना, ३ जना अहेबका लागि १३० जनाले आवेदन दिएको अस्पतालले जनाएको छ ।
१ जना कन्सल्टेण्ट रेडियोलोजिष्ट माग गरिएकोमा एकै जनाकोे मात्रै आवेदन परेको छ ।
![]()
पदपूर्ती समितिबिना नै नियुक्ति दिने तयारी
अस्पतालले कर्मचारी तथा चिकित्सक, स्वास्थ्यकर्मी भर्ना गर्दा पदपूर्ति समितिमार्फत गर्नु पर्ने भए पनि यहाँ भने पदपूर्ति समितिबिनै भर्ना गर्न खोजिएको छ ।
कर्मचारी भर्ना गर्नु पर्ने नपर्ने वा भर्ना गर्दा अपनाउनुपर्ने आवश्यक तयारी पदपूर्ति समितिले तय गर्छ । तर पदपूर्ति समिति नबनाई निमित्त मे.सु बीरेन्द्र बहादुर प्रधानले छनौट समिति बनाएर चिकित्सक स्वास्थ्यकर्मी भर्ना गर्न लागेका हुन् ।
पदपूर्ति समितिबिनै चिकित्सक स्वास्थ्यकर्मी भर्ना गर्न लागेको भन्दै अस्पताल भित्रैबाट बिरोध भएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभले अहिले चिकित्सक तथा स्वास्थ्यकर्मी नियुक्त गर्न विभागले नै निमित्त मेसुलाई जिम्मेवारी दिएकाले उनैले यसबारे छनौट गर्ने बताए ।
स्रोतका अनुसार स्टाफ नर्स, अहेब र अनमीका लागि खुलाईएको विज्ञापनमा अहिले अस्पतालमा स्वयंसेवकको रुपमा कार्यरत रहेकाहरुलाई नै अन्तर्वार्तामार्फत नियुक्त गर्न लागिएको बताइन्छ । कन्सल्टेन्ट रेडियोलोजिष्टमा अहिले अस्पतालमा नै कार्यरत बेदप्रकाश गिरीको मात्रै आवेदन परेकाले उनलाई नै नियुक्त गर्ने तयारी छ ।
