वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा अक्सिजन ग्यास प्लान्ट उद्घाटन भएको दुई साता पुग्न लागेको छ । तर यो अन्तरालमा प्लान्टबाट एक लिटर पनि अक्सिजन उत्पादन भएको छैन ।
प्लान्टबाट उत्पादन हुने अक्सिजन अस्पतालका कोठाकोठामा जडान भएको पाइपसम्म पुर्याउन आवश्यक पाइप अहिलेसम्म जडान गर्न सकिएको छैन । उत्पादित ग्याँस फिलिङ गर्ने आवश्यक उपकरण पनि अहिलेसम्म तयार पारिएको छैन । त्यसैले प्लान्टबाट अक्सिजन उत्पादन हुन सकिरहेको छैन ।
गएको भदौ १६ गते तामझामकासाथ प्लाण्ट उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्ने अधिकांसले अस्पतालको बेडसम्म सिलिण्डर बोकेर लैजानुपर्ने बाध्यता अबदेखि हटेको दावी गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तवले बिरामीको जीवन बचाउन आवश्यक प्राणवायुको प्लाण्ट नै स्थापना गर्न पाउँदा आफु खुसी भएको भन्दै अब प्लाण्टबाट सोझै अस्पतालको बेडबेडमा अक्सिजन पुग्ने बताएका थिए ।
तर उद्घाटन भएको यतिका दिनसम्म पनि प्लाण्ट चल्ने सुरसार नहुँदा श्रीवास्तवको दावीलाई नै झुटो सावित पार्ने काम भइरहेको भन्दै उनी निटले असन्तुष्टि जनाएका छन् ।
प्लाण्ट स्थापना गरेर अस्पताललाई हस्तान्तरण गरेको भए पनि बाँकी काम सक्न अस्पतालले ढिलाई गर्दा प्लाण्ट वेवारिसे बन्न पुगेको हो ।
‘प्लाण्ड सञ्चालन गर्ने दायित्व अब अस्पतालको हो,’ अस्पतालकै कर्मचारी भन्छन्, ‘तर अस्पतालले बाँकी काम नगर्दा प्लाण्ट बेवारिसे जस्तै बन्न पुगेको छ ।’
प्लाण्टबाट अक्सिजन उत्पादन नहुँदा अस्पतालमा अझै पनि सिलिण्डर बोक्नु पर्ने बाध्यता छ । आइसीयू, इमर्जेन्सी लगायतका कोठामा पाइप जडान गरेर सिलिण्डरबाट ग्यास फिलिङ गरिएको छ । तर प्रसूती कोठामा अहिलेसम्म पनि सिलिण्डर नै बोकेर बेड बेडमा राख्नु पर्ने बाध्यता हटेको छैन ।
अहिले पनि अस्पतालमा दैनिक ५०/६० सिलिण्डर अक्सिजन खपत भइरहेको अस्पतालको तथ्यांकमा उल्लेख छ । अक्सिजनमै अस्पतालले दैनिक ३० हजारभन्दा बढी खर्च गरिरहेको छ । अक्सिजन प्लान्ट सुरु भएको भए यो ३० हजार रुपैयाँ अस्पतालको बच्ने थियो । तर प्लाण्ट संचालन गर्ने तर्फ अस्पताल प्रशासनले रुचि नदेखाउँदा बेवारिसे बन्ने अवस्थामा पुगेको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.बीरेन्द्र बहादुर प्रधान आफूहरु प्लाण्ट संचालन गर्न आवश्यक तयारीको काम गरिरहेको बताउँछन् । अहिले नै सञ्चालनमा ल्याउन आवश्यक उपकरण जडानको काम सकिएको छैन, उपकरण जडान गर्ने काम हुनासाथ प्लाण्ट सञ्चालनमा आउने उनको दावी छ । तर उपकरण जडान कहिलेसम्म हुने निश्चित भने अझै भइसकेको छैन ।
