वीरगञ्ज – डिभिजन वन कार्यालय पर्साले गएको आर्थिक वर्षमा २६ लाख रुपैयाँ भन्दाबढी राजश्व संकलन गरेको छ । विभिन्न शीर्षकमा गरेर २६ लाख ६६ हजार ३ सय ८७ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
कार्यालयले गएको आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी वन क्षेत्रको रोयल्टी शीर्षकमा राजश्व संकलन गरेको हो । यसमा मात्रै कार्यालयले २२ लाख ९३ हजार ४ सय १२ रुपैयाँ राजश्व संकलन गरेको छ । काठ कटान, विक्री तथा समिलहरुले बुझाउने करलाई वन क्षेत्रको रोयल्टी शीर्षकमा राखिएको छ ।
यस्तै प्रशासनीक सेवा शुल्क शीर्षकमा दर्ता नविकरण लगायत काम गर्दा २ लाख ४१ हजार ४ सय ३५ रुपैयाँ राजश्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।
बेरुजु बापत १ लाख १० हजार १ सय ९० रुपैयाँ संकलन गरेको पनि कार्यालयका निमित्त वन अधिकृत फरमान मियाँले जानकारी दिए ।
न्यायिक दण्ड जरिवाना र जफत शीर्षकमा १९ हजार ८ सय ५० रुपैयाँ संकलन हुनुका साथै वन क्षेत्रको अन्य आयतर्फ १ हजार ५ सय संकलन भएको पनि मियाँले जानकारी दिए ।
