आज:  | Tue, 21, Apr, 2026

बालमन्दिरको जग्गा बहाल प्रकरण : डा.दीपक शाक्यले मिडियामै बाेले झुट

Avatar photo दिशा निर्देश २३ भाद्र २०७८, बुधबार ०७:१४ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – बालमन्दिरको जग्गा भाडामा लिएर विद्यालय सञ्चालन गर्दै आइरहेका डा.दीपक कुमार शाक्यले विद्यालय बन्द गराएर पार्टी प्यालेस खोल्ने षड्यन्त्र अनुरुप आफूलाई बदनाम गराएको आरोप लगाएका छन् ।

वीरगञ्जको नारायणी एफ.एम.को कार्यक्रम विधीको शासनमा कुरा गर्दै डा.शाक्यले भने, ‘बाल संगठनको अहिलेको कार्यसमितिले पार्टी प्यालेस खोल्न होला मलाई बदनाम गराएर हटाउन खोजेको, तर म हुन्जेल त्यो हुँदैन । त्यहाँ पार्टी प्यालेस र डान्स डिस्को खुल्न दिन्न ।’

सम्झौता गरेदेखि अहिलेसम्मको भाडा भन्दा पनि बढी रुपैयाँ आफूले संगठनमा बुझाइसकेको भन्दै आफ्नो बारेमा संगठनले अहिले अनर्गल आरोप लगाएको दावी गरे ।

दिशा निर्देशले सोमबार बाल मन्दिरको जग्गामा डा.दीपक शाक्यको मनपरी, करोडौँ रुपैयाँ बहाल तिर्न बाँकी, शीर्षकमा समाचार प्रकाशित गरेसँगै यसबारे सोधी खोजि हुन थालेपछि डा.शाक्यले यस्तो दावी गरेका हुन् ।

रेडियोको कार्यक्रममा डा.शाक्यले आफूले बाल संगठनमा तिर्नु बुझाउनु एक रुपैयाँ पनि बाँकी नरहेको बताएका छन् । पटक पटक गरेर करिब १२ लाख रुपैयाँ बैंकमा डिपोजिट गरेको र भवन निर्माणका बेला १५ लाख खर्च भएको भन्दै अहिलेसम्म आफूले बरु बढी पैसा बुझाएको उनको जिकिर छ ।

बाल संगठनले शंकल्प शाक्यको नाउँमा लिइएको जग्गाबापत अहिलेसम्म १ करोड २५ लाख रुपैयाँ असुल गर्न बाँकी रहेको भनिरहँदा शंकल्पका बुवा डा.दीपक शाक्य भने १० वर्षको भाडा २५ लाख मात्रै हुने भन्दै आइरहेका छन् ।

आफूले २०७र्७ कात्तिक ३ गते ५ लाख र पुष २ गते ४ लाख बैंकमा डिपोजिट गर्नुका साथै यही वर्षको जेठ २५ मा थप ३ लाख रुपैयाँ एडभान्स पनि बुझाइसकेको उनको दावी छ ।

संगठनले पनि शाक्यले बैंकमा १२ लाख ५० हजार रुपैयाँ बुझाएको भन्दै यो रकम सम्झौता अनुरुप अपुग भएको मात्रै भनेको छ । शाक्यले भुक्तान गरेको पैसा भुक्तानै नगरेको भनेर भनेको छैन ।

तर शाक्य आफैंले २५ लाख बुझाउन बाँकी भनिरहँदा १२ लाख बुझाएको हिसाब देखाएर भाडा बापतको सबै रकम बुझाइसकेको भन्दै पन्छिन खोजिरहेका छन् ।
बहाल बापत संगठनले पाउनु पर्ने १ करोड २५ लाख रुपैयाँ संगठनका कोषाध्यक्ष राजाबाबु रौनियार र सचिव हेमन्त तामाङले डा.शाक्यलाई पटक पटक भेटेर र लिखित रुपमा नै जानकारी गराएका थिए ।

तर डा.शाक्यले अहिले मिडियामा आएपछि मात्रै १ करोडको हिसाबको बारेमा आफूले जानकारी भएको भनेर सरासर झुट बोलेको कोषाध्यक्ष रौनियार बताउँछन् । रानियार भन्छन्, ‘म आफैं गएर भनेको छु, सँगै हेमन्त पनि छ, तर डाक्टरसाबले कसरी यति झुट बोल्न सक्नु भयो म आफै अच्चम परेको छु ।’

शाक्यका दलिल सम्झौता विपरित

डा.शाक्यले कार्यक्रममा पेश गरेका दलिल र दावीहरुलाई केलाउँदा उनले मिडियासँग नै झुट बोलेका छन् ।

भवन मर्मत तथा वाल निर्माणमा लागेको १५ लाख रुपैयाँ भाडा बापत कट्टा गराउनु पर्ने उनको माग छ । तर शाक्यले माग गरेको यो शुविधा उनी आफैंले गरेको सम्झौता विपरितको हो ।

सम्झौताको पहिलो बुँदामै बहालमा लिएको जग्गामा वाउण्ड्रीवाल वा तारवार गर्ने जिम्मेवारी दोस्रो पक्षको नै हुने भनेर स्पष्ट लेखिएको छ ।


यति हुँदा हुँदै पनि उनी भवन मर्मत तथा वाल निर्माणमा लागेको खर्च भाडामा कटाउनु पर्यो भन्दै संगठनलाई पत्राचार गरेको भनेर भन्न पछि परेका छैनन् ।

यस्तै डा.शाक्यले निर्माणको काम ४ वर्षपछि मात्रै सकेकाले ४ वर्षपछिबाट भाडा सुरु हुनु पर्नेमा आफूले सुरुबाटै भाडा दिइरहेको पनि भनेका छन् । तर सम्झौताको १ नम्बर बुँदाको ‘ख’मा निर्माण अवधिको समयमा पनि १६ हजार १ सय रुपैयाँ बहाल तिर्नै पर्ने उल्लेख छ । सम्झौतामा निर्माणको अवधि २ वर्ष लेखिएको छ ।

व्यवहारतः भौतिक निर्माण गर्न लागेको समय ४ वर्ष बनाउन सकिएला तर त्यसपछिका वर्षदेखि भने हरेक ३/३ वर्षमा १० प्रतिशतका दरले भाडा बृद्धि हुने कुरा त सम्झौतामै उल्लेख छ ।

सम्झौतामा कहीँ कतै पनि भौतिक निर्माणको काममा नगरपालिकाले खर्च गर्ने छ भनेर उल्लेख छैन । तर अहिले डा.शाक्यले त्यसबेला नगरपालिकाले भौतिक निर्माणको काम गरिदिने भनेको भनेर प्रचार गर्न थालेका छन् ।

मौखिक रुपमा त्यसबेलाका अध्यक्षसँग कुरा भएको भन्दै उनले कसरी हुन्छ बहाल नतिर्ने बहाना खोजिरहेका छन् ।

झुटमाथि झुट
यस्तै डा.शाक्यले बोलेको अर्को झुट भनेको संस्थाको नाउँमा खाता नहुँदा आफूले विगतमा बहाल बुझाउन नपाएको भन्ने कुरा हो ।

‘संस्थाको खाता विगतदेखि नै निरन्तर संचालनमा थियो,’ संगठनका सभापति रामकिसोर सिंह भन्छन्, ‘पछिल्लो समय नयाँ कार्यसमिति आएपछि नयाँ समितिको विवरण अपडेट मात्रै गरिएको हो ।’

नभए विगतदेखि नै खाता संचालनमै थियो । बहाल नै नतिर्ने मनसायमा रहेका डा.शाक्यलाई यो पनि एउटा बहाना बनेको हो । तर यो बहाना हास्यास्पद छ । बैंकको स्टेटमेण्ड विवरणले नै खाता विगतदेखि नै संचालनमा रहेको प्रष्ट पार्दैन र भन्दै सिंह प्रश्न गर्छन् ।

आफूले पनि बाल संगठनमा विगतमा २० वर्ष सेवा गरेको भनेर डा.शाक्यले पटक पटक दोहोर्याए । तर लामो समय सेवा गरेकै संस्थाले अहिले आएर आफूविरुद्धमा नै अनर्गल आरोप लगाएको भन्दै कार्यक्रममै दुखेसो पनि पोखे ।

डा.शाक्यले तिर्नु पर्ने बहाल नतिरेको भन्दै संगठनले बहाल उठाउन आवश्यक सहयोग गर्न भन्दै जिल्ला प्रशासन कार्यालयमा समेत कागजपत्र पेश गरेको छ । यसअघिका प्रमुख जिल्ला अधिकारी आशमान तामाङकै पालामा पेश भएको कागजपत्र अनुसार अहिलेका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले पनि यस बारेमा डा.शाक्यसँग बुझ्न खोजेका थिए । तर शाक्यले प्रमुख जिल्ला अधिकारीलाई पनि अटेर गर्दै बहाल तिर्न अटेर गर्दै आइरहेका छन् ।

यस्तै डा.शाक्यले आफूलाई हटाएर विद्यालयमा पार्टी प्यालेस बनाउन खाेजेकाे भन्ने आराेप छ नि भन्ने प्रश्नमा  संगठनका सभापति रामकिसाेर सिंहले डा.शाक्यले बहाल नतिर्नका लागि यस्ताे  भन्दै हिँड्न लागेकाे भन्दै बाँकी लिन पर्ने बहाल रकम जसरी पनि असुल गरेर छाड्ने बताए । यस्तै बालमन्दिरले चर्चेकाे जग्गा शैक्षिक गतिविधिका काम बाहेक अरु काममा आफूहरुले प्रयाेग हुनै नदिने पनि उनले स्पष्ट पारेका छन् ।


सम्बन्धित खबरहरु