वीरगञ्ज – भन्सार छलेर ल्याएको झण्डै ८० लाख मूल्यको लत्ताकपडा सहित २ वटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
आइतबार राति २ वटा ट्रकमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज १४ को गण्डक सडकखण्डबाट नियन्त्रणमा लिएको कपडासहितको ट्रक राजश्व कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ना.३ ख ५१६५ र ना.३ ख ५५२५ नम्बरको ट्रकमा भन्सार छलिगरेर लत्ताकपडा नेपाल भित्र्याइएको थियो ।
प्रहरीले सडकमा जाँच गर्ने क्रममा चालकहरु भने फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
ट्रक खानतलासी गर्दा प्रज्ञापन पत्र र बिलबिजक फरक देखिएकाले नियन्त्रणमा लिएको खनालले बताए ।
पुराना मितिको प्रज्ञापन पत्रमा उल्लेख गरिएको भन्दा बेग्लै लत्तापकडा भन्सार छली चितवन तर्फ लग्दै गरेको भन्ने सूचनाको आधारमा जाँच गर्दा २ ट्रक लत्ताकपडा बरामद भएको उनले बताए । बरामद लत्ताकपडाको ८० लाख मुल्यांकन गरेर थप अनुसन्धानका लागि राजश्व कार्यालयमा सोमबार नै पठाइएको प्रहरीले जनाएको छ ।
