आज:  | Tue, 21, Apr, 2026

तस्करीको भिडियो खिच्दा पत्रकारको घर घेराउ

Avatar photo दिशा निर्देश २१ भाद्र २०७८, सोमबार १३:०४ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – वीरगञ्जको छपकैयाँ इनर्वा गाउँबाट गए राति भइरहेको तस्करीको भिडियो खिचेको विषयलाई लिएर तस्कर समूहले वीरगञ्जका एक पत्रकारको घर घेरेका छन् ।

सीमावर्ती रक्सौलबाट ल्याइएका सामान भन्सार छलेर इनर्वा गाउँ हुँदै रातको समयमा नेपाल भित्र्याइरहेको अवस्थामा भिडियो खिचेका पत्रकार सन्तोष यादवको घर तस्कर समूहले आज बिहान घेराउ गरेका हुन् ।

इनर्वा क्षेत्रमा सीमा सुरक्षार्थ खटिएको प्रहरीले नै तस्करलाई सहयोग गरिरहेको भिडियो खिचेकाले त्यहाँ खट्ने प्रहरीकै निर्देशनमा आफ्नो घर घेर्न तस्करहरु आएको पत्रकार यादवले बताए ।

उनको घर घेर्न तस्करीमा संलग्न ज्योती यादवको समूह आज बिहान १२ बजे पुगेको थियो । घर घेर्न यादव समूहका मालती देवी, तबारक मियाँ, रवी शर्मा, लालबाबु साह लगायत पुगेका थिए ।

पत्रकारले भिडियो खिचेपछि प्रहरीले बाध्य भएर उनीहरुको काम रोक्नु परेको थियो । वीरगञ्ज भन्सारको सुरक्षार्थ खटिएको ससस्त्र प्रहरी बलका प्रहरी निरीक्षक स्वर्ण बमसहितलाई गए राति नै इनर्वाको विक्रम पटेलको घरमा पार्टी दिइएको थियो ।

तस्करी तथा अपराधिक गतिविधि नियन्त्रणका लागि छिटो र छरितो रुपमा घटनास्थलमा पुग्ने भनेर गठन गरिएको टोली टाइगर टोलीका प्रहरी जवान अजय यादव र मोहन साहले पनि तस्करसमूहलाई सीमावर्ती क्षेत्रबाट भन्सार छलेका सामान नेपाल भित्र्याउन सहयोग पुर्याउने गरेको थियो ।

पार्टीमा उनीहरुको संलग्नता नखुलेको भए पनि घर घेराउ गर्न पठाउने योजनामा भने उनीहरु पनि रहेको बुझिएको छ ।

घर घेराउ गर्न आएका तस्कर समूहलाई इनरुवा प्रहरी चाैकीबाट गएकाे प्रहरीकाे टाेलीले तितरबितर पारेकाे थियाे ।


सम्बन्धित खबरहरु