आज:  | Tue, 21, Apr, 2026

पन्जशिर उपत्यका नियन्त्रणमा लिएको तालिबान दाबी, विरोधी समूहकाे खण्डन

Avatar photo दिशा निर्देश २१ भाद्र २०७८, सोमबार १२:१७ मा प्रकाशित (४ साल अघि)

एजेन्सी – तालिबानले आफ्नो नियन्त्रणमा आउन बाँकी रहेको पन्जशिर प्रान्तमा पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ।

राजधानी काबुलबाट उत्तरमा अवस्थित उक्त प्रान्तमा तालिबान शासनको प्रतिरोध हुँदै आएको छ। केही दिनदेखि त्यहाँ लडाइँ भइरहेको बताइन्छ।

“यो विजयसँगै हाम्रो देशलाई पूर्णतः युद्धको दलदलबाट निकालिएको छ,” तालिबानका एक प्रवक्ताले भने।

तर तालिबानको प्रतिरोध गरिरहेको न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरफ) ले तालिबानको दाबीको खण्डन गरेको छ।

“यो सत्य हैन। तालिबानले पन्जशिर उपत्यकालाई नियन्त्रणमा लिएका छैनन्। म तालिबानको दाबीको खण्डन गर्छु,” एनआरएफका प्रवक्ता अलि मैसमले बीबीसीसँग भने।

उक्त समूहको ट्विटरमा भनिएको छः ”एनआरएफका सैनिकहरू युद्धलाई निरन्तरता दिन उपत्यकाका सबै रणनीतिक स्थानमा छन्। हामी अफगनिस्तानका जनतालाई आश्वस्त पार्न चाहन्छौँ कि न्याय र स्वतन्त्रता कायम नभएसम्म तालिबान र तिनका साझेदारविरुद्धको सङ्घर्ष जारी रहन्छ।”

सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा प्रान्तीय गभर्नरको कार्यालयको द्वारअगाडि तालिबान लडाकुहरूलाई देखाइएको छ। बीबीसीले तिनलाई स्वतन्त्रत रूपमा पुष्टि गर्न सकेको छैन।

वार्ताको चर्चा
यसअघि तालिबानविरुद्ध युद्ध गरिरहेको प्रतिरोधी समूहका नेताले आफू शान्तिवार्ताका लागि तयार भएको बताएका थिए।

वार्ताबाट समाधान खोज्न धार्मिक नेताहरूले ल्याएको एउटा प्रस्तावप्रति आफू सकारात्मक भएको जनाउ दिँदै अहमद मसूदले तालिबानलाई आफ्नो आक्रमण रोक्न आह्वान गरेका हुन्।

विरोधीहरूको गढ मानिएको पन्जशिरमा तालिबान तीव्र गतिमा बलियो बन्दै गरेको विवरण आएको थियो।

राजधानी काबुलबाट उत्तरमा अवस्थित उक्त प्रान्तमा तालिबान शासनको प्रतिरोध हुँदै आएको छ।

तालिबानले तीन साताअघि अफगानिस्तानका बाँकी भाग र पश्चिमा राष्ट्रहरूले समर्थन गरेको सरकार धराशायी भएपछि अगस्ट १५ मा राजधानी काबुल आफ्नो नियन्त्रणमा लिएको थियो।
तालिबानले आक्रमण गर्न रोक्ने हो भने आफ्नो नेतृत्वमा रहेको न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरफ) पनि लडाइँ रोक्न तयार हुने अहमद मसूदले फेसबुकमा लेखेका छन्।

तालिबानको प्रतिरोध गर्ने एनआरएमा अफगान सुरक्षा निकाय काम गरेका पूर्वसुरक्षाकर्मी र स्थानीय लडाकु छन्।


सम्बन्धित खबरहरु