आज:  | Tue, 21, Apr, 2026

बाल मन्दिरको जग्गामा डा.दीपक शाक्यको मनपरी, करोडौँ रुपैयाँ बहाल तिर्न बाँकी

Avatar photo दिशा निर्देश २१ भाद्र २०७८, सोमबार ११:५८ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – वीरगञ्जको आदर्शनगरमा रहेको नेपाल बाल संगठनको जग्गा वर्षौँदेखि भाडाबापतको रकम नबुझाई प्रयोग भइरहेको खुलेको छ ।

बाल संगठन पर्साले भाडा बापतको रकम उपलब्ध गराउन पत्राचार गरेसँगै संगठनको नाममा रहेको करिब १२ कट्ठा जग्गाको भाडाबापतको रकम गएको १० वर्षदेखि नबुझाई प्रयोग भइरहेको खुलेको हो ।

तत्कालिन संगठनका सभापति अशोक कुमार जयसवालले गएको २०६८ असार २१ गते वीरगञ्जकै स्वर्गीय गोपालबहादुर शाक्यका नाती तथा दीपक बहादुर शाक्यका छोरा शंकल्प शाक्यलाई संगठनको करिब १२ कट्ठा जग्गा २५ वर्षका लागि बहाल लिने दिने सम्झौता गरेका थिए ।

वीरगञ्जको मुख्य क्षेत्रमा रहेको १२ कट्ठा जग्गाको मासिक बहाल पनि न्यून कायम गरिएको छ । मासिक १६ हजार १ सय बहाल लिने गरी संगठनले शाक्यसँग सम्झौता गरेको थियो ।

तर सम्झौता गरेदेखि अहिलेसम्म शाक्यले संगठनलाई बुझाउनु पर्ने मासिक बहाल नबुझाई जग्गा भने प्रयोग गरिरहेका छन् ।

शाक्यले बहालमा लिएको जग्गामा श्री आदर्श माद्यमिक विद्यालय सञ्चालनमा छ ।

छोराको नाउँमा नियम विपरित सम्झौता
विधानतः बालसंगठनमा रहेका पदाधिकारी तथा सदस्यले आफ्नो वा आफ्नो सन्तानको नाममा संगठनको सम्पत्ति भाडामा लिन नपाउने प्रावधान छ । तर त्यसबेला संगठन पर्साको सदस्य रहेका डा.दीपक कुमार शाक्यले आफ्नो छोरा शंकल्प शाक्यको नाउँमा जग्गा भाडामा लिएका हुन् ।

डा.दीपक कुमार शाक्यले जिल्ला र केन्द्रीय बाल संगठनका पदाधिकारीलाई प्रभावमा पारेर त्यतिबेला जग्गा हात पारेका थिए ।

सम्झौता पत्रमा पहिलो पक्षको रुपमा तत्कालिन संगठन पर्साका सभापति अशोक कुमार जैसवाल र दोस्रो पक्षको रुपमा शंकल्प शाक्यले हस्ताक्षर गरेका छन् । साक्षीहरुमा भने संगठन पर्साका उपसभापति मोहन रंजन प्रसाद प्रधान, बालमन्दिर निमाविकी प्रधानध्यापिका रत्ना सिलवाल, किशोर श्रेष्ठ र शंकल्पका बुवासमेत रहेका संगठनका तत्कालिन सदस्य दीपक बहादुर शाक्यले हस्ताक्षर गरेका छन् ।

आफैं संगठनको सदस्य भएको व्यक्तिले आफ्नै छोरालाई जग्गा बहालमा लगाउने र आफैं साक्षी बसेर संगठनकै विधानको बर्खिलापमा डा.दीपक शाक्यले काम गरेको संगठन पर्साका वर्तमान सभापति रामकिशोर सिंह पराग बताउँछन् ।

सम्झौता आफू अनुकुल तयार
सम्झौताको बुँदा नम्बर (१) को ‘घ’ मा सम्झौता अनुसार लिएको जग्गामा दोस्रो पक्षले विभिन्न प्रकारका घर, टहरा, सेड, सटर लगायतका संरचना निर्माण गर्न सक्ने उल्लेख छ ।

त्यसैको ‘ङ’ मा त्यसरी निर्माण गरेको भौतिक संरचना दोस्रो पक्षले पुनः तेस्रो पक्षलाई पनि बहालमा लगाउन पाइने भन्ने उल्लेख गरिएको छ । यसमा शैक्षिक प्रयोगका लागि मात्रै तेस्रो पक्षलाई दिन पाउने भनेर पनि लेखिएको छ ।

यसको अन्तर्य भनेको छोराको नाउँमा जग्गा लिएर बाबु डा.दीपक कुमार शाक्यले विद्यालय संचालन गर्ने प्रयोजनकै लागि यो बुँदा राखेको देखिन्छ ।

यसले आफू अनुकुल हुने गरी सम्झौताका बुँदाहरु तयार पारेको देखिएका अहिलेका सभापति रामकिशोर सिंह बताउँछन् ।

ताकेता सामाजिक सञ्जालबाटै
गएको वर्ष रामकिशोर सिंह बाल संगठन पर्साको सभापति बनेसँगै संगठनको चल अचल सम्पत्ती खोज्ने काम सुरु भएको थियो । जसअनुसार संगठनले सम्झौतै गरेर दिएको जग्गाको भाडाबापतको रकम पनि नउठेको देखिएको सिंह बताउँछन् ।

सम्झौता अनुसार रकम दाखिला गर्न आफूहरुलाई शाक्यलाई भेटेर र पत्राचार गरेर पटक पटक ताकेता गर्दा पनि अटेर गरेको उनी बताउँछन् । पटक पटकको ताकेता अटेर गरेपछि आफूहरुले संगठनको आधिकारीक फेसबुक पेजमा नै उनलाई हुलाकबाट पठाएको पत्र सार्वजनिक गर्न बाध्य भएको सिंहको भनाई छ ।

‘सम्झौता अनुसारको रकम नउठेको देखेपछि आफूहरुले कसरी उठाउन सकिन्छ भनेर दोस्रो पक्षलाई पटक पटक भेट्यौँ, पत्राचार गर्यौँ,’ सिंह भन्छन् ‘तर दोस्रो पक्ष शंकल्प शाक्यकका बुवा डा.दीपक कुमार शाक्यले तिर्छु, तिर्छु भन्दै अहिलेसम्म झुलाएपछि बाध्यभएर सामाजिक सञ्जालमै ताकेताको पत्र सार्वजनिक गर्यौँ ।’
भाडा वापत १ करोड २५ लाख भन्दा बढी तिर्न बाँकी

बाल संगठनले सार्वजनिक गरेको पत्र अनुसार डा.दीपक कुमार शाक्यका छोरा शंकल्प शाक्यले सम्झौता बमोजिम अहिलेसम्मको १ करोड २५ लाख ९५ हजार ३ सय ५४ रुपैयाँ बहाल तिरेका छैनन् ।

आफू आएपछि पटक पटक ताकेता गर्दा संगठनको खातामा शंकल्प शाक्यको नाउँले १२ लाख ३० हजार रुपैयाँ दाखिला गरेको भए पनि बाँकी १ करोड २५ लाख रुपैयाँ अझै तिर्न बाँकी रहेको सभापति सिंह बताउँछन् ।

सम्झौताको बुँदा नम्बर (१) को ‘ग’ मा त्रैमासिक रुपमा अग्रिम बहाल बुझाउनु पर्ने र त्यसरी नबुझाए १० प्रतिशत जरीवाना लाग्ने उल्लेख भएबमोजिम आफूहरुले जरीवानासमेत जोडेर तिर्नबाँकी रकम निकालेको उनी बताउँछन् ।
‘आफूहरुले निकालेको हिसाबमा कुनै फरक देखिए कार्यालयमा बसेर हिसाब निकाल्न बोलाएका छौँ,’ सिंह भन्छन्, ‘तर उनीहरु अटेर गरेर आउँदै आउँदैनन्, अहिले पनि १५ दिनको समय दिएर पत्र काटेका छौँ ।’

बिजुली पनि चोरेर प्रयोग
डा.दीपक कुमार शाक्य यस क्षेत्रका लागि परिचित नाम हो । शाक्य वीरगञ्जका लागि शैक्षिक क्षेत्रको उन्नयनमा योगदान गरेका र यहाँको नागरिक अगुवाको रुपमा ख्याति कमाएका व्यक्ति हुन् ।

कतिपयले शाक्यले यसरी आफूअनुकुल बाल संगठनको जग्गा प्रयोग गरिरहेको र त्यो पनि १० वर्षदेखि भाडा नै नदिई भन्ने कुरा हत्तपत्त विश्वास गरिहाल्दैनन् । तर यो यथार्थ हो । उनले छोराको नाउँमा जग्गा भाडामा लिएर त्यसमा विद्यालय सञ्चालन गरिरहेका छन् । तर भाडा वापतको तिर्न पर्ने करोडौँ रुपैयाँ भने पचाएर बसेका छन् ।

यति मात्रै होइन, उनले बाल संगठनको जग्गामा सञ्चालन गरेको श्री आदर्श मा.वि.ले बाल मन्दिरको नाउँमा रहेको मिटरबाट बिजुली प्रयोग गरेर अहिले मिटर नै हटाएको भेटिएको छ । तर बिजुली प्रयोग बापतको बिल भने विद्यालयले तिरेको छैन । यस्तै विद्यालयको नजिकै रहेको पौष्टिक आहार भवनको मिटरबाट प्रयोग गर्दै आएको बिजुलीको बिल पनि विद्यालयले नतिरेको संगठनले जनाएको छ ।

बाल मन्दिरको मिटरबाट बिजुली प्रयोग गरिरहेको र बिल भने नतिरेको देखेपछि त्यसबारे जानकारी माग्दा विद्यालयले मिटर नै रातारात गायब गरेको संगठनका कोषाध्यक्ष राजाबाबु रौनियार बताउँछन् । विद्यालयले बिजुली चोरेर प्रयोग गरिरहेको छ तर पैसा भने तिरेको छैन ।

बाल संगठन पर्साका सदस्यद्वय हेमन्त तामाङ र राजाबाबु रौनियारले शंकल्पका बुवा डा.दीपक कुमार शाक्यसँग पटक पटक भेटेर समस्या समाधानका लागि छलफल गरे ।

तर आफूहरुलाई जहिल्यै पनि डा.शाक्यले ठूला कुरा गरेर बहाल तिर्ने विषय भने टार्ने गरेको तामाङ सम्झन्छन् । बहाल नतिर्ने भन्ने कुरा गर्दैनन् तर अहिलेसम्म तिरेका पनि छैनन् । उनी भन्छन् ।

आफ्नो कार्यकालमा जसरी पनि बक्यौता रकम असुल उपर गरेरै छाड्ने बताउँछन संगठनका सभापति सिंह । उनी भन्छन्, ‘बहाल नतिरि कोही पनि उम्कन पाउँदैन, जसरी पनि हामी तिराएरै छाड्छौँ ।’ अहिले दिएको समयमा पनि बहाल नबुझाए विद्यालयमै ताला लगाएर असुल उपर गर्ने प्रकृयामा आफूहरु जाने उनको भनाइ छ ।

१५ दिनभित्र बक्यौता फस्र्यौट गर्न नआए उक्त जग्गामा सञ्चालित विद्यालयमा ताला किन नलगाउने भनेर आफूहरुले चेतावनी पत्र पनि पठाइसकेको सिंह बताउँछन् । यसका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा शाक्य विरुद्ध उजुरी समेत दिइसकेको सभापति सिंहको भनाई छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको पत्रमा पनि जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ दिइएको छ ।

यसबारेमा डा.दीपक कुमार शाक्यसँग बुझ्न पटक पटक टेलिफाेन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

यस्ताे थियाे सम्झाैता 

 


सम्बन्धित खबरहरु