आज:  | Tue, 21, Apr, 2026

शल्यकृया गर्दा लापरवाही : डा.सलमाले बच्चा र श्रीमतीको ज्यान लिन खोजेको आरोप

Avatar photo दिशा निर्देश १९ भाद्र २०७८, शनिबार २३:३३ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – पटक पटक विवादमा पर्दै आएकी प्रसुती रोग सम्बन्धी डा.सलमा बानु फेरी विवादमा आएकी छिन् ।

वीरगञ्जको एडभान्स मेडिकेयर हस्पिटलमा शल्यकृया गरेर बच्चा निकालेको आमाको स्वास्थ्य विग्रिएपछि डा.सलमा विवादमा मुछिएकी हुन् ।

लापरवाही गरेर शल्यकृया गर्दा आमाको स्वास्थ्य नाजुक बनेको भन्दै आफन्तले अस्पतालमा शनिबार साँझ डा.सलमा विरोधमा केही बेर प्रदर्शन नै गरे ।
पर्साको पोखरीयाकी २५ वर्षीय निशा गुप्ताको शल्यकृया गरेर बच्चा निकालेको भए पनि शल्यकृयाको केही समय पछि निशाको स्वास्थ्य खराब भएको थियो ।

स्वास्थ्य अवस्था ठिक रहेको भए अहिले निशा घरमा बच्चा खेलाएर बसिरहेकी हुन्थिन्, तर लापरवाही तरिकाले शल्यकृया गर्दा निशाको ज्यान नै धरापमा परेको वीरगञ्ज वडा नम्बर ९ का वडाध्यक्ष मनोज कलवार बताउँछन् ।

‘शल्यकृया गरेर निकालेको बच्चाको अवस्था पनि अझै नाजुक छ, आमाको अवस्था झनै चिन्ताजनक छ,’ वडाध्यक्ष कलवार भन्छन्, ‘यसबारेमा जानकारी लिन जाँदा डा.सलमाले आफूहरुलाई हप्काउन खोज्ने र अहिले त भेट्दै नभेटी भागि भागि हिडिरहेकी छिन् ।’ डा.सलमा छाडा तरिकाले आफूहरुसँग कुरा गर्ने गरेको भन्दै वडाध्यक्ष कलवार भन्छन्, उनी डाक्टर हो कि आतंकवादी ?

वीरगञ्ज ९ का वडाध्यक्ष मनाेज कलवार ।

गएको सोमबार राती ११ बजे निशाको शल्यकृया गरेर बच्चा निकालिएको थियो । त्यसको भोलिपल्टैबाट स्वास्थ्यमा खराबी आएको निशा र बच्चाको आजसम्म अवस्था सुध्रिन सकेको छैन ।

बच्चाको अवस्था नाजुक हुँदै गएपछि बच्चालाई मात्रै शुक्रबार नेशनल मेडिकल कलेज रिफर गरेर त्यहीँ उपचार भइरहेको थियो भने आमाको पनि स्वास्थ्य सुधार नभएपछि आज वीरगञ्ज हेल्थकेयर रिफर गरेर त्यहाँ उपचार भइरहेको छ ।

डा.सलमा बानुले लापरवाही गरेका कारण आफूहरुको आमा र बच्चाको ज्यान जाने अवस्था आएको निशाका पति श्यामकिशोर प्रसादको आरोप छ ।

गर्भ बसेदेखि अहिले बच्चा जन्माउने बेलासम्म पनि डा.सलमाकै निगरानीमा रहेकी निशालाई उनकै दवाबमा शल्यकृया गरिएको थियो । तर शल्यकृया गर्दा लापरवाही गरिदिँदा आफ्नो बच्चा र श्रीमतीको स्वास्थ्य नाजुक बनेको उनको आरोप छ ।

निशाकाे श्रीमान् ।

नारायणी अस्पतालमा कार्यरत डा.सलमा र उनका पति डा.मेहदी हसन अन्सारीको आफ्नै क्लिनिकका साथै विभिन्न निजी अस्पतालमा पनि काम गर्ने गर्छन ।

प्रसूतीका लागि आउने महिलालाई यो जोडिले सामान्य तरिकाले प्रसूती गराउँदैन । विभिन्न समस्या देखाउँदै शल्यकृयाबाटै बच्चा जन्माउन बाध्य बनाउने र शल्यकृया पनि लापरवाही गर्ने गर्दै आएको आरोप लाग्दै आइरहेको छ ।


सम्बन्धित खबरहरु