वीरगञ्ज – यातायात व्यवस्था कार्यालय वीरगञ्जले गत आर्थिक वर्षमा सवारी चालक अनुमति पत्र जारी गरेर मात्रै साढे १० करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।
गएको आर्थिक वर्ष २०७७/०७८ मा यातायात व्यवस्था कार्यालय वीरगञ्जले चालक अनुमतिपत्र जारी गरेर १० करोड ६६ लाख ९० हजार रुपैयाँ राजश्व संकलन गरेको हो । जुन नयाँ सवारी चालक अनुमति पत्र र पुराना चालक अनुमति पत्र रिन्यू गर्दा संकलन भएको रकम हो ।
यसअघिको आर्थिक वर्ष २०७६/०७७ मा यसभन्दा पनि कम राजश्व संकलन भएको थियो । कोभिड महामारीका कारण आर्थिक वर्ष ०७६/०७७ मा बढी समय कार्यालय बन्द भएको र सवारी चालक अनुमति पत्रको परीक्षा पनि हुन नसकेकाले राजश्वमा कमी आएको हो । त्यो आर्थिक वर्षमा जम्मा ८ करोड २२ लाख १५ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०७५/०७६ मा भने १२ करोड १६ लाख ५५ हजार रुपैयाँ यही शीर्षकमा राजश्व संकलन भएको थियो । निरन्तर काम भएको र कुनै अवरोध नआएकाले त्यो आर्थिक वर्षमा राजश्व बढी उठेको भए पनि पछिल्लो २ वर्षदेखि कोभिडका कारण सवारी चालक अनुमति पत्रको काम ठप्प भएकाले राजश्वमा कमी आएको यातायात व्यवस्था कार्यालय वीरगञ्जका लाइसेन्स शाखा प्रमुख सुशील साहले बताए ।
गएको आर्थिक वर्षमा मात्रै १२ हजार १२ जनाले नयाँ सवारी चालक अनुमति पत्र लिएको कार्यालयको तथ्यांंकमा उल्लेख छ ।
जसमध्ये मोटरसाईकल चालकको लाइसेन्स लिनेको संख्या अधिक छ । एक वर्षको अवधिमा ४ हजार १ सय ४३ जनाले मोटरसाईकल चालकको नयाँ लाइसेन्स लिएका छन् । यस्तै सोही अवधिमा स्कुटी चालकको लाइसेन्स १ हजार २ सय १८ जनाले लिएको पनि कार्यालयको तथ्यांकमा उल्लेख छ ।
अब फेरि केही दिनमा नै नयाँ सवारी चालकका लागि ट्रायल र लिखित परीक्षा गर्ने कार्यालयले तयारी गरेकाे छ । काेभिडका कारण राेकिएकाे परीक्षा यही भदाैकाे अन्त्यसम्ममा फेरि सुरु गर्ने गरी तयारी भइरहेकाे लाइसेन्स शाखाका प्रमुख साहले बताए ।
