वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा आजबाट अक्सिजन ग्यांस प्लान्ट सञ्चालनमा आएको छ । कोभिड दोस्रो लहरको समयमा अस्पतालमा अक्सिजन अभाव हुँदा कतिपय संक्रमितको निधन भएको थियो ।
दोस्रो लहरको समयमा संक्रमितलाई बढी अक्सिजन आवश्यकता भएको महसुस भएको थियो । तर अस्पतालमा अक्सिजन प्लान्ट नहुँदा सिलिण्डिरबाट अक्सिजन आपूर्ती गर्नु पर्ने बाध्यता रहँदा अभाव खड्किन पुगेको थियो ।
अस्पतालमा अक्सिजनको अभाव हुन नदिन अक्सिजन प्लान्ट स्थापना गर्नु पर्ने आवश्यकता महशुस गरेर काम सुरु गरेको ३ महिनामै प्लान्ट निर्माणको काम सकिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.बीरेन्द्र बहादुर प्रधानले बताए ।
अस्पताल परिसरमा स्थापना गरिएको प्लान्टको बुधबार एक कार्यक्रमकाबीच उद्घाटना गरिएसँगै अब अस्पतालमा अक्सिजन अभाब हुने छैन ।
अक्सिजन सप्लाईका लागि अहिले अस्पतालमा पाइपलाईन नै बनाइएको छ । पहिले जस्तो सिलिण्डर बोकेर बेड बेडमा लैजानु पर्ने बाध्यता अहिले हटेको छ ।
![]()
प्लान्ट स्थापनामा सांसद श्रीवास्तवको सहयोग
पर्सा क्षेत्र नम्बर २ का सांसद विमल श्रीवास्तवले अस्पतालमा ग्यास प्लाण्ट स्थापना गर्न आफ्नो संसदीय कोषबाट विनियोजन गरेको २ करोड रुपैयाँमध्ये १ करोड ४७ लाख ९२ हजार रुपैयाँमा प्लान्ट स्थापना भएको हो ।
ललितपुरको वयोधा मेडिकल टेक्नोलोजी प्रालिले पाएको ठेक्का अनुसार गएको असारमै प्लान्ट स्थापनाको काम सक्नु पर्ने भए पनि केही ढिला गरी काम सकेर अहिले सञ्चालनमा आएको हो ।
पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तवको समाजसेवी स्वर्गीय चिरञ्जिविलाल सरावगीको स्मृतिमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र वीरगञ्ज महानगरपालिकाको सहयोगमा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको हो ।
![]()
पाइपलाइन पनि दाताकै सहयोगमा
अस्पतालको सर्जरी, मेडिकल, इमर्जेन्सी र प्याड्रेटिक वार्डमा विभिन्न दाताको सहयोगमा अक्सिजन पाइपलाइन जडान भइसकेको छ ।
जसमा वीरगन्जको त्रिवेणी ग्रुपले आफ्नो तीनवटा कम्पनीको नामबाट २३ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकमबाट उद्योग वाणिज्य संघ वीरगन्जको आर्थिक सहयोगमा निर्माण भएको २० बेडको बाल सघन चिकित्सा कक्षमा पाइपलाइन जडान गरिएको छ ।
यसैगरी क्याल ग्रुपको २० लाख, नेपाल फर्मास्युटिकल्स कम्पनीको १७ लाख, सूर्य टोबाकोको १३ लाख रुपैयाँको सहयोगले सर्जरी, मेडिकललगायतको वार्डमा अक्सिजन पाइपलाइन जडान कार्य गरिएको थियो ।
अस्पतालको एचडीयू वार्डको पाइपलाइन मात्र सरकारको बजेटले जडान भएको र अन्य वार्डहरुमा भने दाता खोजेरै उनीहरुकै सहयोगमा पाइपलाइन जडान भएको अस्पतालका वरिष्ठ चिकित्सक डा.निरज सिंह बताउँछन् । ‘अस्पताललाई दाताहरुले ठूलो सहयोग गरका छन्,’ उनी भन्छन्, ‘पाइपलाइन मात्रै होइन महंगा मेडिकल उपकरणहरु पनि दाताकै सहयोगमा अस्पतालमा भित्रिएको छ ।’
दैनिक १ हजार लिटर उत्पादन
बुधबार उद्घाटना गरिएको ग्यास प्लान्टले दैनिक पाइपलाइनबाट १ हजार लिटर ग्यास वितरण गर्ने र ५÷६ वटा सिलिण्डर पनि त्यही समयमा भर्न सक्ने क्षमता रहेको निमित्त मे.सु.डा.प्रधान बताउँछन् ।
![]()
यसले अब जस्तो सुकै महामारीका बेला पनि ग्यास आपूर्तीमा अभाव नहुने उनको दावी छ ।
अस्पताल परिसरमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सांसद विमल श्रीवास्तवले महामारीका बेला अक्सिजनको अति जरुरी देखेर आफूले अस्पतालमा अक्सिजन प्लान्ट बनाउन बजेट उपलब्ध गराएको बताए ।
उनले आम नागरिकको जीवन रक्षाका लागि सबैले आआफ्नो स्थानबाट सकेको सहयोग गर्नु पर्ने औँल्याउँदै आउँदा दिनमा पनि अस्पताललाई आवश्यक सहयोग रहिरहने प्रतिबद्धता दोहोर्याए ।
उद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डे, ससस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, राष्ट्रिय अनुसन्धानका एसपी टीका पोखरेल, सूर्य नेपालका प्रबन्ध निर्देशक प्रभाकर शाहको सहभागिता रहेको थियो ।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभको सभापतित्वमा भएको कार्यक्रम अस्पतालको स्टाफ नर्स हेमा थापाले सञ्चालन गरेकी थिइन् ।
