आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा भदौ तेस्रो साताबाट पुनः सवारी लाइसेन्सको परीक्षा सुरु हुने

Avatar photo दिशा निर्देश १६ भाद्र २०७८, बुधबार १०:११ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – यातायात व्यवस्था विभागको निर्देशनअनुसार वीरगञ्जमा पनि सवारी चालक अनुमति पत्रको परीक्षा यही भदौको तेस्रो साताबाट हुने भएको छ । त्यसका लागि यातायात व्यवस्था कार्यालय वीरगञ्जले आवश्यक तयारी अघि बढाएको जनाएको छ ।

दोस्रो लहरको कोभिड महामारीका कारण गएको बैशाख १४ गते लिखित परीक्षा लिएसँगै बन्द भएको सवारी चालक अनुमती पत्रको परीक्षा ४ महिनापछि फेरि हुन लागेको हो ।

यातायात व्यवस्था विभागले भदौ १० गते नै आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सवारी चालक अनुमति पत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न परिपत्र गरेको थियो ।

त्यही परिपत्र अनुसार यहाँको ट्रायल सेन्टरको सरसफाईदेखि लिखित परिक्षा लिने स्थानको व्यवस्थापनमा आफूहरु खटिएको र अबको केही दिनमै परीक्षा सुरु गर्ने गरी तयारी अघि बढाइएको यातायात व्यवस्था कार्यालय वीरगञ्जको लाइसेन्स शाखाका प्रमुख सुशील साहले जानकारी दिए ।

‘निरन्तरको वर्षाका कारण वीरगञ्जमा भाडामा लिइएको ट्रायल सेन्टरमा पानी जमेको छ,’ साह भन्छन्, ‘पानीको निकास गरेर त्यहाँ भएका फोहोर सफाई गर्ने काम अहिले भइरहेको छ । यो सकिने वित्तिकै सूचना निकालेर त्यसको एक हप्ताभित्र हामी लिखित र ट्रायल परीक्षा सुरु गर्छौँ ।’

अब खुल्ने लिखित र ट्रायल परीक्षामा पहिला फारम भरेकाहरुलाई पहिलो प्राथमिकतामा राखिने कार्यालयले जनाएको छ ।

गएको बैशाख १४ गते लिखित परीक्षा दिएर उतीर्ण भएकाहरुले अब खुल्नासाथ ट्रायल परिक्षा दिन पाउने छन् । कोभिडका बेला बन्द भएको समयमा परीक्षाको मिति परेकाहरुलाई अब परीक्षा खुलेपछि पहिलो प्राथमिकतामा राखेर परीक्षा लिइने लाइसेन्स शाखाका प्रमुख साहले बताए । अहिले अनलाईन फारम भरेका र बन्दको बेला समय परेकाहरुको वायोमेट्रिक (फोटो खिचाउने) को काम भइरहेको पनि उनले बताए ।

विभागले यही भदौ २० गतेबाट काठमाण्डौको चाबेल र सानोभर्‍याङबाट ट्रायल र लिखित परीक्षा लिने भनेर सूचना जारी गरिसकेको छ । अब देशैभरी रोकिएको सवारी लाइसेन्सको काम अघि बढेको र त्यही अनुरुप वीरगञ्जले पनि आफ्नो काम लाई अघि बढाएको हो ।

 


सम्बन्धित खबरहरु