आज:  | Tue, 21, Apr, 2026

सफाई गरेकाे जस लिनेलाई गिज्याउने शंकराचार्य गेटकाे तस्वीर

Avatar photo दिशा निर्देश १४ भाद्र २०७८, सोमबार १६:२४ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – गएको साउनको अन्तिम साता तिर वीरगञ्जको शंकराचार्य गेट र त्यस आसपासको सडक वरपर सरसफाई कार्यक्रम भयो । त्यसमा वीरगञ्ज महानगरपालिकाले पनि सहकार्य गरेको थियो । मितेरी पुलमा भएको खाल्डाखुल्डि पुर्न महानगरपालिकाले आवश्यक ग्राभल उपलब्ध गराएको थियो ।

मितेरी पुलदेखि रजतजयन्ती चोकसम्मको सडक वरपरको फोहोर मैला सफाई गरिएको थियो । त्यस्तै नेपालकै मुख्य प्रवेशद्वारको रुपमा रहेको शंकराचार्य गेटमा लागेको धुलो महानगरपालिकाको दमकल लगेर सफाई गरिएको थियो ।

नेपालकै मुख्य प्रवेशद्वार नै दुर्गन्धित भए नेपाल प्रवेश गर्नेको मनोबल कस्तो होला ? त्यही भएर विगत लामो समयदेखि भोलेन्टियर नामक समूहले यस क्षेत्रमा सफाई गर्दै आएको थियो । र अहिले पनि कोभिड महामारी कम भएकाले अब अभियानलाई साप्ताहिक रुपमा अगाडी बढाइने समूहका राजन श्रीवास्तव बताउँछन् ।

यसै क्षेत्रमा अन्य केही संस्थाले पनि बेला बेला सरसफाई कार्यक्रम गर्ने गरेका छन् । पछिल्लो पटक जयप्रकाश खेतानको नेतृत्व रहेको ग्रिन सिटी आदर्शनगरले यस क्षेत्रमा सफाई कार्यक्रम गर्यो ।

आफ्नो ठाउँको सरसफाई गर्ने दायित्व हामी सबैको हो । यो कोही एक्लैले गर्ने भन्ने कुरै हुँदैन । तर सफाई जम्मै मैले नै गरेँ, मैले मात्रै सफाई गर्दै आएकाले म बाहेक यो ठाउँमा अरुले सफाई गर्नै पाउँदैन अनि एक पटक सफाई कार्यक्रम गरेर सबै सफाई व्यवस्थापन मैले नै मिलाएको हो भन्ने जस्ता कुराहरु पछिल्लो समय देखिएको छ ।

सामाजिक सञ्जालमा सफाईको श्रेय लिने होडबाजी नै देखियो । सामाजिक अभियानकर्ता बताउने केहीले काम गर्ने एउटा जस पाउने अर्को भन्ने गरी सामाजिक सञ्जालमै रिस र आक्रोस पोखेको देखियो ।

काम गर फलको आश नगर भन्ने महावाणी दिएका चाणक्यको यो भनाई अभियानकर्ताहरुलाई थाहै रहेन छ । अहिले काम गर्दै जाने हो नि । जस लिने होडमा लाग्ने हो भने त्यो अभियान होइन स्वार्थका लागि गरिएको रहेछ भनेर देखाउछ नि ।

अर्को कुरा दुबैले शंकराचार्य गेट मैले सफाई गरेको हुँँ भन्दै गर्दा गेटको अवस्थाले दुबैलाई गिज्याई रहेको आभाष हुन्छ ।

शंकराचार्य गेटको माथिल्लो टुंडाल र गजुर क्षेत्रमा चराले विष्ट्याएका कारण विरुवा र झारपातहरु उम्रिएका छन् । यसले गेटकै शोभा घटाइदिएको अनुभुति हुन लागेको छ । तर गेटको अवस्था यस्तो हुँदा पनि त्यो नहेरी यहाँ जस लिनकै लागि होड चलिरहेको छ ।

गेटमै दमकलले पानी हालेर सफाई गर्दा पनि अभियन्ताहरुले गेट नै कुरुप हुने गरी उम्रिएका विरुवा र झार फाल्न भने तत्परता नदेखाएका हुन् कि भन्ने भान हुन्छ । यस तर्फ अब भने अभियान कर्ताको ध्यान जाओस् ।


सम्बन्धित खबरहरु