सत्यराज घिमिरे/वीरगञ्ज – शल्यक्रिया गर्दै गर्दाको समयको भिडियो लिएर चिकित्सकले टिकटक बनाएको विषयले हिजो र आज दिनभर जसो चर्चा बटुल्यो ।
वीरगञ्जको स्पर्स मल्टिस्पेशालिटी हस्पिटलमा कार्यरत चिकित्सक डा.राजेश कुमार साहले आफूले शल्यकृया गर्दै गरेको रक्ताम्मे भिडियो बनाएर टिकटकमा हालेपछि उनको चर्चा सुरु भएको हो ।
धेरैले चिकित्सकले सामाजिक सञ्जालमा यस्ता भिडियो हाल्न नहुने भन्दै बिरोध गरिरहेका छन् भने कतिपयले भने बिरामीको अनुहार नदेखिने गरी उनले आफूले गरेको कामको भिडियो हालेको भन्दै बचाउ गरिरहेका छन् ।
डा.साहले हालेको भिडियो चिकित्सक आचारसंहिता विपरित भएको चिकित्सकहरु नै बताउँछन् ।
‘चिकित्सकले आफ्नो दायरामा रहेर काम गर्नु पर्नेमा कसैको इच्छा विपरित वा इच्छामै भए पनि रक्ताम्मे भएर शल्यकृया हुँदै गरेको भिडियो सामाजिक सञ्जालमा हाल्नु हुँदैन,’ नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जका सचिवसमेत रहेका डा.उदयनारायण सिंह भन्छन्, ‘यो नैतिकताले पनि दिँदैन, सामाजिक तवरमा पनि पच्ने कुरा होइन ।’
चिकित्सकले आचार संहिता पालना गरे नगरेको विषयमा नेपाल मेडिकल काउन्सिलले अनुगमन गर्ने गरेको छ । यस विषयमा पनि काउन्सिलले आवश्यक निर्णय गर्न सक्छ ।
भिडियोपछिको आशंका
अहिले भिडियो सार्वजनिक गरेसँगै स्त्री तथा प्रसुती रोग विशेषज्ञसमेत रहेका डा. साहले यसअघि पनि शल्यक्रिया गरेको महिलाको निवस्त्र भिडियो बनाएका छन् कि भनेर कतिपयले आशंका गर्ने गरेका छन् । उनको टिकटक भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यस्ता खाले प्रतिकृया देख्न सकिन्छ ।
कतिपयले शल्यक्रिया जस्तो संवेदनशिल काम गरिरहेका बेला भिडियो बनाउँदा ध्यान भड्किएर बिरामीको ज्यान गएको भए के हुन्थ्यो भनेर प्रश्न गरेका छन् ।
आचारसंहितामा चिकित्सकले आफ्नो बिरामीको व्यक्तिगत गोपनियता राख्नु पर्छ र अनुमतिबिना फोटो भिडियो सार्वजनिक गर्नु हुँदैन भनेर स्पष्ट व्यवस्था गरेको छ । साथै रक्ताम्मे पारिएका फोटो भिडियो सकेसम्म सार्वजनिक नै गर्न हुँदैन भनिएको छ । तर डा.साहले काउन्सिलले तोकेको निर्देशन उल्लघंन गर्दै सामाजिक सञ्जाल टिकटकबाटै भिडियो सार्वजनिक गरिदिएका हुन् ।
बिरोधपछि माफी
टिकटक भिडियोको सर्वत्र विरोध भएपछि भिडियो सार्वजनिक गरेका डा.साहले माफि मागेका छन् ।
सामाजिक सञ्जाल टिकटकमै उनले आफूले कसैलाई चोट पुर्याउन नभई आफूले गरेको काम देखाउन मात्रै भिडियो हालेको भन्दै यसले कसैलाई असर गरेको भए माफी चाहन्छु भनेका छन् । साथै उनले आफ्नो टिकटक अकाउन्टबाट शल्यकृया गर्दै गरेको भिडियो हटाएका छन् ।
कारबाहीको विषय
रक्ताम्मे अवस्थाको शल्यकृयाकै भिडियो टिकटमा हाल्ने चिकित्सकलाई कारबाही गर्नु पर्ने आवाज सर्वत्र उठेको छ ।
चिकित्सकले अपनाउनु पर्ने आचारसंहिता कडाइका साथ पालना नहुँदा र गलत गर्नेले उन्मुक्ति पाउने परिपार्टीको विकास हुँदा यस्ता गतिविधिले प्रस्रय पाएको चिकित्सकहरु नै बताउँछन् ।
यो विषय मेडिकल काउन्सिलको नजरमा परिसकेकाले यस्तो भिडियो बनाउने चिकित्सकलाई काउन्सिलले कस्तो कारबाही गर्छ भनेर आफूहरुले हेरिरहेको चिकित्सक संघ नारायणीका सचिव डा.सिंह बताउँछन् । आचारसंहिता कडाइका साथ पालना गराउन पनि यस्ता घटनामा संलग्नलाई आवश्यक कारवाही हुनु पर्ने उनी बताउँछन् ।
यस्तो भिडियो बनाएर सार्वजनिक गर्नेलाई काउन्सिलले पहिला स्पष्टिकरण सोध्ने र त्यसमा चित्त नबुझे निलम्बनसम्मको कारबाही गर्न सक्छ । साथै अभ्यास गर्न निश्चित समयसम्म प्रतिबन्ध लगाउन सक्ने अधिकार पनि काउन्सिललाई छ ।
अब काउन्सिलले कस्तो कारवाही गर्छ त्यो भने हेर्न बाँकी छ ।
