आज:  | Tue, 21, Apr, 2026

भवानी अस्पतालका डा.विपिन चौरसिया बिरामीको उपचार नै नगरी रकम असुल्ने धन्दामा

Avatar photo दिशा निर्देश १३ भाद्र २०७८, आईतवार १८:२१ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – वीरगञ्जको भवानी अस्पतालमा न्यूरो सर्जनको रुपमा कार्यरत डा.विपिन चौरसियाले उपचारमा आएका बिरामीलाई चर्को शुल्क असुल गर्ने गरेको भेटिएको छ । डा.चौरसियाकै गलत प्रवृत्तिका कारण अस्पताल बदनाम हुने अवस्थामा पुगेको छ ।

डा.चौरसियाले उपचारका लागि अस्पताल आउने बिरामीलाई उपचार नै नगरेको रकमसमेत तिर्न लगाउने गरेको भेटिएको हो । चौरसियाले गएको हप्ता एक जना बिरामीलाई एक घण्टा बेडमा राखेको मात्रै ५५ हजार रुपैयाँ तिर्न पर्ने भन्दै बिल थमाइदिए ।

सामान्य जाँच गरेको बाहेक अन्य कुनै उपचार नै नगरी ५५ हजार तिर्नु पर्ने भन्दै कागजको चिर्कटो दिएपछि बिरामी र उनका आफन्त अचम्ममा परे ।

बिरामीका आफन्त थिए जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एक प्रहरी नायव निरीक्षक । अस्पतालले मनलागि पैसा मागिरहेको भनेर उनलाई जानकारी भएपछि अस्पताल पुगेर बिलबारे जानकारी माग्दा डा.चौरसियाले टार्न मात्रै खोजे । आफन्त र प्रहरी पनि पुगेपछि भने ५ हजार २ सय रुपैयाँमै कुरा मिल्यो । र बिरामी घर फर्किए ।

यो बिरामी त प्रहरी आफन्त भएकाको पर्‍याे । तर सामान्य नागरिक भएको भए डा.चौरसियाले फोकटमा ५५ हजार रुपैयाँ तिर्न बाध्य पार्ने रहेछन् ।

यस्तै डा.चौरसियाले अस्पतालमा उपचार गर्न आउने बिरामीलाई उपचार नै नगरेको बिल थमाउँदै पैसा तिर्न लगाउने र पैसा नतिरेसम्म अस्पतालमै थुनेर राख्न लगाउने गरेका रहेछन् ।

गएको आइतबार अस्पतालमा उपचारका लागि लगिएकी रौतहटको १३ वर्षीया बालिका करिना पटेललाई २ लाख रुपैयाँ डिपोजिट नगरेसम्म उपचार नै नहुने भन्दै चौरसियाले पैसा डिपोजिट गर्न दवाब दिए ।

डा.चाैरसियाले हातले लेखेर दिएकाे २ लाख रुपैयाँकाे बिल

यसमा पनि अस्पतालका न्यूरो सर्जन डा.चौरसियाले खालि कागजमा बिरामीको आइडीसहित २ लाख रुपैयाँ डिपोजिट गर्न पर्ने भन्दै कागजमा लेखेर दिएका थिए ।
जसमा अपरेसन चार्ज २५ हजार, न्यूरो १९ हजार, आइसीयू बेड ५ हजार ५ सय, राउण्ड चार्ज १ हजार ५ सय, परामर्श २ हजार ५ सय लगायत विविध शीर्षकमा २ लाख रुपैयाँ लाग्ने भन्दै पैसा डिपोजिट गर्न दबाब दिने गरेका छन् ।

बिवाद पछि ६३ हजारकाे बिल

चिकित्सकले डकैती शैलीमा बिरामीसँग पैसा असुल गरिरहेको आफन्तले आरोप लगाएका छन् । पैसा नतिरेसम्म बिरामीलाई बाहिर लैजान नदिने र तिर्ने भए तिर नभए म बाहिर गएँ भन्दै धम्कि दिने गरेको बिरामीका आफन्तहरु बताउँछन् ।

घटनाको जानकारी भए लगत्तै आफूले चिकित्सक डा.चौरसियासँग अस्पताल बदनाम हुने गरी कुनै काम नगर्न चेतावनी दिएको अस्पताल प्रशासन प्रमुख रामराज श्रेष्ठ बताउँछन् ।

चिकित्सक डा.चौरसियालाई आफूले बिरामीका आफन्तसँग स्पष्ट सल्लाह गरेर र वास्तविक लागेको शुल्क मात्रै लेख्न आग्रह गरिसकेको श्रेष्ठ बताउँछन् । साथै आफूसँगै पटक पटक अस्पताललाई विवादमा ल्याउउने काम गर्ने हो भने आफ्नो बाटो रोज्न भनेर आफूले भनिसकेको उनी बताउँछन् ।

आफूहरु बिरामीको सेवा गर्न बसेकाले उचित शुल्कमै बिरामीको उपचार हुने र कोही कसैले बदमासी गरे सिधै अस्पताल प्रशासनमा सम्पर्क राख्न पनि उनले आग्रह गरे ।


सम्बन्धित खबरहरु