आज:  | Tue, 21, Apr, 2026

पत्रकार फसाउने राैतहट प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइने

Avatar photo दिशा निर्देश ८ भाद्र २०७८, मंगलवार १७:२५ मा प्रकाशित (४ साल अघि)

काठमाडौं – रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाइने भएको छ ।

निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरिएको प्रकरणमा शाहको संलग्नताबारे छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरिएको हो ।

उनको ठाउँमा नयाँ एसपी पठाउने तयारी प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले छानविनका लागि शाहलाई प्रदेश प्रहरी कार्यालयमा तान्ने तयारी गरेको बताए ।

घटनामा शाहको संलग्नताबारे छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण महतको नेतृत्वमा ४ सदस्यीय समिति बनाएको छ । समितिमा कानूनी शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेतलगायत सदस्य छन् ।

समितिले पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाइएको घटनामा एसपी शाहको संलग्नता रहे नरहेकोबारे छानविन गरेर प्रहरी महानिरीक्षकलाई प्रतिवेदन बुझाउनेछ । प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाह निलम्बनमा परिसकेका छन् ।

प्रहरीले मुख्य योजनाकार भनेको सहनीलाई एसपी शाहले फोन गरेर ‘हिजो काम भएछ नी त है’ भनेको अडियो सार्वजनिक भएको थियो ।

कुराकानीको सुरुवातमा उनले ‘एक्लै हो’ भनेर प्रश्न पनि गरेका थिए । यसले पूर्वयोजना अनुसार शाहको पनि घटनामा संलग्नता रहेको हुनसक्ने पत्रकारहरुले आशंका गरेका छन् ।


सम्बन्धित खबरहरु