आज:  | Tue, 21, Apr, 2026

सरकारले खेल गतिविधि नै प्रभावित पार्यो : अध्यक्ष पौडेल

Avatar photo दिशा निर्देश ४ भाद्र २०७८, शुक्रबार १९:०० मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले वर्तमान सरकारले खेल गतिविधि नै प्रभावित हुने गरी काम गरिरहेको आरोप लगाएका छन् ।

वीरगञ्जमा खेलकुद महासंघ पर्साले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले केपी ओली नेतृत्वको सरकारले खेल र खेलाडीलाई प्रोत्साहन हुने गरी ल्याएका कार्यक्रम वर्तमान सरकारले रोक्दा खेल क्षेत्र नै प्रभावित हुने अवस्था बनेको भन्दै चिन्ता व्यक्त गरे ।

अध्यादेशबाट बनेको सरकारले नागरिकको समस्या समाधान गर्न नसक्ने भन्दै उनले यो सरकारबाट धेरै आशा नगर्न सबैलाई आग्रह गरे ।

भेलाले महासंघ पर्साका अध्यक्ष मनोज साह र सचिव संदीप बस्नेतको नेतृत्वमा ७५ सदस्यिय मूल आयोजक कमिटि गठन गरेको छ । साथै भाद्र १५ गतेसम्म पर्साका १४ वटै पालिकामा समेत संगठन विस्तार गर्ने भेलाले निर्णय गरेकाे छ ।

भेलामा नेकपा एमालेको केन्द्रीय सदस्य निर्मला देवकोटा, नेकपा (एमाले) पर्साका अध्यक्ष प्रभु हजरा, बसरुद्धिन अंसारी, नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष मानदेव हजरा, केन्द्रीय उपमहासचिव शिव जि गुप्ता, केन्द्रीय उपमहासचिव राजेश साह, केन्द्रीय सचिव राम किशोर सिंह पराग, अनेरास्ववियुका केन्द्रीय सदस्य हेमन्त तामाङ, जेयाद अंसारी, शुसिल केसी लगायतको उपस्थिति रहेको थियो ।

महासंघ पर्साका अध्यक्ष मनोज साहको सभापतित्वमा भएको कार्यक्रममा महासंघका केन्द्रीय सचिव रामकिशोर सिंह परागले स्वागत मन्तव्य राखेका थिए भने अकलेश साहले सहजिकरण गरेका थिए ।


सम्बन्धित खबरहरु