काठमाण्डाै – अफगानिस्तानमा काबुल एइरपोर्टमा जाँदै गरेका एक नागरिकलाई प्रहार भएको छ । काबुलमा एयरपोर्ट बाहिर मानिसहरुलाई निकै खतरा रहेको बताइएको छ । जर्मनीको सरकारका प्रवक्ताले यो जानकारी दिँदै आफ्ना नागरिकहरुलाई छिटोभन्दा छिटो अफगानिस्तानबाट बाहिर निकालिने बताएका छन् ।
उनले भने, ‘उनको उपचार भइरहेको छ र उनको ज्यानमाथि कुनै खतरा छैन ।’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अझै पनि काबुलको एयरपोर्ट अझै पनि अस्तव्यस्त देखिएको छ । अहिले अफगानिस्तानका मानिस कुनै पनि अवस्थामा त्यहाँबाट निस्किने प्रयासमा छन् ।जर्मनीको
समाचार एजेन्सी डीपीएका अनुसार जर्मन दूतावासले एयरपोर्ट जाने मानिसलाई चेतावनी जारी गर्दै एयरपोर्टको प्रवेशद्वारमा आक्रमण हुन सक्ने भन्दै सर्तक रहन आग्रह गरेको छ । जर्मनीको सेनाले अफगानिस्तानबाट आफ्ना नागरिकलाई बाहिर ल्याउन हेलिकोप्टर पठाउने विषयमा विचार गरिरहेको बताएको छ ।
सोमबार काबुल एयरपोर्ट अस्तव्यस्त बनेसँगै स्थिति नियन्त्रणमा लिन अमेरिकी सेनाले गोली चलाएको थियो । यो क्रममा केहीको मृत्यु भएको थियो ।
