आज:  | Tue, 21, Apr, 2026

सरकारको विरोधमा वीरगञ्जमा प्रदर्शन, दल विभाजन अध्यादेश जलाईयो

Avatar photo दिशा निर्देश ३ भाद्र २०७८, बिहीबार १९:४८ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु पर्सा र नेपाल खेलकुद महासंघ पर्साले सरकारले ल्याएको दल विभाजन अध्यादेशको छायाँ प्रति जलाएको छ । दुबै संगठनको संयुक्त आयोजनामा वीरगंजको माइस्थानमा अध्यादेशको विरोधमा बिहीबार साँझ छायाँ प्रति जलाएको हो ।

यस अघि ठाकुरराम बहुमुखी क्याम्पसबाट निस्केको विरोध र्‍याली आदर्शनगर माइस्थान हुँदै पुन क्याम्पस पुगेर सम्पन्न भएको थियो ।

प्रदर्शनकारीहरुले माइस्थान चोकमा केहीबेर आवतजावत अवरुद्ध गर्दै सरकारले दल फुटाउने अध्यादेश ल्याएर देशमा अस्थिरता ल्याउन खोजेको भन्दै आक्रोस पोखेका थिए ।

‘अफगानिस्तानमा फसेका आफ्ना नागरिक स्वदेश ल्याउन समेत नसक्ने निकम्मा सरकारले दल टुटफुट गराउने अध्यादेश ल्याएर नेपाललाई पनि अस्थिरतातर्फ लैजाँदै अफगानिस्तान नै बनाउन खोजे,’ अनेरास्ववियुका केन्द्रीय सदस्य हेमन्त तामाङ भन्छन्, त्यसैले आज हामीले यो अध्यादेशको विरोध गर्दै जलाउनु परिरहेको छ ।’

यस्तै खेलकुद महासंघका सचिव रामकिशोर सिंह परागले वर्तमान सरकारले देशलाई अस्थिरतातर्फ धकेलिरहेको भन्दै त्यसबाट बचाउन शसक्त आन्दोलनमा उत्रन सबैलाई आह्वान गरे ।

प्रदर्शनमा सहभागिहरुले हुतिहारा सरकार मुर्दाबाद, कोभिड भ्याक्सिन तुरुन्त व्यवस्था गर जस्ता नारा लगाएका थिए ।

विराेध प्रदर्शनमा नेपाल खेलकुद महासंघ उप-महासचिव शिव जी गुता, सचिव राम किशोर सिंह, अनेरास्ववियु केन्द्रिय सदस्य नसिम अख्तर, विशाल सरार्फ, मेराजुल हवारी, नेपाल खेलकुद महासंघ पर्सा अध्यक्ष मनोज साह, अनेरास्ववियु पर्सा सह-संयोजक अजित साह, आसिफ अहमद, जेहाद अंसारी, नितेश वर्णावल, अमरदीप विक, भक्ति अग्रवाल, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य अकलेश साह, सुवोध पौडेल लगायतकाे सहभागिता रहेकाे थियाे ।


सम्बन्धित खबरहरु