प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा जनमत बटुल्न अनेक उपाय अपनाउन थालेका छन् ।
लामो समय बालुवाटारको चौघेराबाटै कार्यकारी भूमिका निर्वाह गरेका उनी पछिल्लो समय देश दौडाहामा निस्कने गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकै अध्यक्षसमेत रहेका उनी आफ्नो पक्षमा माहोल बनाउन विभिन्न कदम चालिरहेका छन् ।
प्रधानमन्त्री ओलीले सबैभन्दा धेरै मतदाता रहेको प्रदेश २ मा पनि आफ्नो प्रभाव बढाउन पहल गरेका छन् । मधेसमा आफ्नो प्रभाव बढाउनका लागि काँग्रेस, जसपा तथा नेकपाकै प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ता तान्न उनले अनेक ‘अफर’ दिएपनि खासै सफल हुन सकेका छैनन् ।
प्रदेश २ मा राजनीतिक प्रभाव बढाउने उद्देश्यले प्रधानमन्त्री ओलीले आफ्ना निकै विश्वासपात्र मानिएका उपप्रधानमन्त्री एवं पार्टीका सचिवालय सदस्य ईश्वर पोखरेललाई परिचालन गरे । उपप्रधानमन्त्री पोखरेलसहित मन्त्री प्रभु साह, केन्द्रीय सदस्य महेश बस्नेतलगायतलाई उनले पटक पटक प्रदेश २ मा पठाएका छन् । यद्यपि खासै सकारात्मक माहोल नबनेपछि उनी आफै प्रदेश २ मा जाने तयारी थालेका छन् ।
स्रोतका अनुसार हेमनारायण यादव स्मृतिसभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओली सिरहा जान लागेका हुन् । प्रदेश २ मा आफ्नो प्रभाव कमजोर भएको आँकलन गरेर नै उनी आफै सो क्षेत्रमा जान लागेको जानकारहरुको भनाइ छ ।
यसअघि ओली संगठनात्मक रुपमा आफ्नो पार्टी निकै कमजोर रहेको सुदूरपश्चिम प्रदेशमा पुगेका थिए ।
प्रदेश २ तत्कालीन माओवादीको बलियो प्रभाव रहेको क्षेत्र हो । हाल नेकपाको प्रचण्ड–माधव पक्षका एक अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला पनि प्रदेश २ मै पर्दछ । त्यसैले पनि ओलीले प्रदेश २ मा विशेष महत्त्व र नयाँ रणनीतिका साथ अघि बढ्न खोजेको उनी निकट स्रोत बताउँछ ।
नेकपाको प्रचण्ड–माधव पक्षले प्रदेश २ मा नेकपाको राजनीतिक विभाजनको खासै ठुलो असर नदेखिएको बताउँदै सिङ्गो नेकपाको ठुलो हिस्सा आफ्नो पक्षमा रहेको दावी गरेको छ । नेकपा ओली समूहका नेता सुमन प्याकुरेलले प्रदेश २ मा नेकपाका दुईमध्ये कुन समूह बलियो छ भन्ने कुरा विस्तारै देखिने बताए ।
नेतृत्व तहका नेताहरु प्रचण्ड–माधव समूहमा केही बढी भए पनि तल्लो तहका कार्यकर्ताहरु आफूहरुको पक्षमा बढी रहेको प्याकुरेलको दावी छ ।
